आइसिसी महिला टी–२० विश्वकपको पहिलो सेमिफाइनल आज दुबईमा हुँदै छ । फाइनल प्रवेशका लागि सर्वाधिक ६ पटकको विजेता अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै छन् । प्रतियोगिताको नवौँ संस्करण युएईमा चलिरहँदा साबिक विजेता अस्ट्रेलिया सातौँपटक उपाधि जित्ने योजनामा छ ।
यसअघि टोलीले सन् २०१०, २०१२, २०१४, १०१८, २०२० र २०२३ मा उपाधि जितेको थियो । त्यसबाहेक पहिलो संस्करण इंग्ल्यान्ड र पाँचौँ संस्करण वेस्ट इन्डिजले जितेका छन् । विश्वकपको हरेक संस्करणमा अस्ट्रेलियाको दबदबा रहँदै आएको छ । उसले ४८ मध्ये ३९ खेल जितेको छ भने आठ खेलमा पराजित भएको छ । एक खेल टाई भएको छ ।
यता, दक्षिण अफ्रिकाको इतिहास भने खासै गतिलो छैन । टोली सन् २०२३ मा मात्रै फाइनलमा पुगेको छ । निर्णायक खेलमा टोली अस्ट्रेलियासँग १९ रनले चुकेको थियो । दक्षिण अफ्रिकाले विश्वकपमा ३७ खेल खेल्दा १७ खेल जितेको छ भने २० खेल गुमाएको छ ।
यद्यपि, टोली पछिल्लो पाँचमध्ये चार खेलमा जित निकाल्न सफल भएको छ । त्यसैले पनि अस्ट्रेलिया खेलमा सतर्क हुनेछ । यसअघि समूहमा ‘ए’मा अस्टे«लियाले विजेता हुँदै सेमिफाइनलमा स्थान बनाएको थियो । चारमध्ये चारै खेल अस्ट्रेलियाले जितेको छ । दक्षिण अफ्रिका भने समूह ‘बी’को उपविजेता हो ।
टोलीले चार खेलबाट ६ अंक जोडेको छ । समूह ‘बी’को विजेता वेस्ट इन्डिज र समूह ‘ए’को उपविजेता न्युजिल्यान्डबिच शुक्रबार दोस्रो सेमिफाइनल हुनेछ । समूह ‘ए’बाट बलियो भारत, पाकिस्तान र श्रीलंका तथा समूह ‘बी’बाट इंग्ल्यान्ड, बंगलादेश र स्कटल्यान्ड बाहिरिएका छन् ।