लेबनान र प्यालेस्टाइनमाथि इजरायलले गरेको युद्ध रोक्न माग

बिहिबार, १ कार्तिक, २०८१
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल माओवादीसहितका दल र नागरिक अगुवाले प्यालेस्टिनी र लेबनानी जनताको पक्षमा मत दिन सरकारलाई आग्रह गरेका छन् । उनीहरूले इजरायलले गरिरहेको आक्रमण रोक्न माग गरेका छन् । ‘इजरायलले गरेको क्रूर र बर्बर युद्ध तुरुन्त बन्द गर्न माग गर्दछौँ । इजरायलको यो बर्बरतापूर्ण हिंसाको विरुद्ध प्यालेस्टिनी र लेबनानी जनताको पक्षमा देशको मत अभिव्यक्त गर्न हामी नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ,’ बुधबार जारी संयुक्त प्रेस वक्तव्यमा भनिएको छ ।

प्यालेस्टिनी र लेबनानी जनताको भूअखण्डता र सार्वभौम अधिकारको सम्मान गर्दै वक्तव्यमा न्यायपूर्ण आवाजप्रति ऐक्यबद्धता जनाइएको छ । प्यालेस्टाइन र लेबनानमा इजरायलले जारी राखेको आक्रमणको उनीहरूले निन्दासमेत गरेका छन् । इजरायलले गरिरहेको आक्रमण २१औँ शताब्दीकै सबभन्दा ठूलो जातीय नरसंहार भएको उनीहरूको दाबी छ । ‘यो घटनालाई २१औँ शताब्दीकै सबैभन्दा ठूलो जातीय नरसंहार एवं जातीय सफाया भन्न सकिन्छ । हामी यस राज्य नियोजित हिंसाको घोर निन्दा एवं भत्र्सना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

वक्तव्यमा माओवादीमा महासचिव देव गुरुङ, एकीकृत समाजवादीमा महासचिव घनश्याम भुसाल, मसालका महामन्त्री मोहनविक्रम सिंह, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय ब्युरो प्रमुख राजेश नेपाली, नेसपाका प्रवक्ता कृष्ण शर्मा, नेकपा बहुमतका कार्यालय सदस्य दीपक चलाउने, राष्ट्रिय क्रान्तिकारी मोर्चाका संयोजक लोकनारायण सुवेदी, प्रगतिशील रूपान्तरण आन्दोलनका संयोजक श्याम श्रेष्ठ, वामपन्थका प्रमुख सम्पादक डा. महेश मास्के, सामाजिक उत्तरदायित्वका लागि चिकित्सक नेपालका संयोजक डा. गणेश गुरुङ, पिपुल्स हेल्थ मुभमेन्टका संयोजक डा. शरद वन्त, बृहत् नागरिक आन्दोलनका डा. सञ्जीव उप्रेती, सामाजिक अनुसन्धानकर्ता मीना पौडेल, प्यालेस्टिनी सोलिडारिटी फोरम नेपालकी उषा तितिछु र प्रगतिशील रूपान्तरण आन्दोलन नेपालका सहसंयोजक ज्योतिलाल वनले हस्ताक्षर गरेका छन् ।

सुझावित समाचार