साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य : कप्तान अञ्जिला

बुधबार, ३० असोज, २०८१
डिजिटल संस्करण
साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य : कप्तान अञ्जिला

नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान अञ्जिला तुम्बाप्पो सुब्बा

नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान अञ्जिला तुम्बाप्पो सुब्बाले साफ महिला च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य रहेको बताएकी छिन्। बुधबार भएको पत्रकार सम्मेलनमा बोल्दै अञ्जिलाले घरमै उपाधि जित्ने योजना भएको र तयारीसमेत बलियो भएको प्रस्ट पारिन्।

‘समग्रमा अभ्यास राम्रो भएको छ। दुई हप्तामा अभ्यास भए पनि महिला लिग हुँदै धेरै सहज भएको छ,’ गोलकिपरसमेत रहेकी अञ्जिलाले भनिन्, ‘हाम्रो लक्ष्य च्याम्पियन बन्ने हो। त्यसैका लागि मिहिनेत गर्छौँ।’

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आयोजना गर्ने प्रतियोगिता कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदै छ। नेपालले कात्तिक २ मा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने तालिका छ। भुटानविरुद्ध फ्रेन्च लिग खेलिरहेकी सावित्रा भण्डारी उपलब्ध हुने छैनन्। युएईको क्लबमा आबद्ध रेखा पौडेल भने मंगलबार मात्रै टोलीसँग जोडिएकी छिन्।

अञ्जिलाले कृत्रिम मैदानमा अभ्यास गरेर घाँसेमैदानमा सीधै खेल्दा समस्या आउने अनुमान गरेकी छिन्। उनले भनिन्, ‘हामीले अभ्यास कृत्रिम मैदानमा गरेका छौँ। प्रतियोगिता दशरथ रंगशालामा हुँदै छ। सीधै घाँसेमैदानमा खेल्दा समस्या हुन सक्छ।’

दुई वर्षअघि दशरथ रंगशालामा प्रतियोगिता हुँदा नेपाल उपविजेता भएको थियो। सेमिफाइनलमा भारतलाई १–० ले हराए पनि नेपाल फाइनलमा बंगलादेशसँग ३–१ ले पराजित भएको हो। प्रतियोगिता सातौँपटक हुनै लाग्दा नेपालले पाँचपटक फाइनल खेलेको छ। तर, उपाधि भने जित्न सकेको छैन। नेपाल चारपटक भारतसँग फाइनलमा पराजित भएको थियो।

समूह ‘बी’मा नेपालसँगै श्रीलंका, माल्दिभ्स र भुटान छन्। समूह ‘ए’मा भारत र बंगलादेशसँगै पाकिस्तान रहेको छ। बिहीबार हुने उद्घाटन खेलमा पाकिस्तान र भारत भिड्नेछन्।

नेपालका प्रशिक्षक राजेन्द्र तामाङले अभ्यास कम भएको बताएका छन्। उनले पाँचपटक फाइनल खेल्दा खेलाडी अनुभवी भएको बताउँदै उपाधि जित्न खेलाडी नै केन्द्रित हुनुपर्ने  प्रस्ट पारे।

प्रशिक्षक राजेन्द्र तामाङ

तस्बिरहरू : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

सुझावित समाचार