कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाउँमा कात्तिक पहिलो सातादेखि पाँचौँ संस्करणको बिपी स्मृति क्रिकेट प्रतियोगिता हुने भएको छ। समाजसेवी तथा कांग्रेस कञ्चनपुरका युवा नेता स्व. विष्णुप्रसाद मिश्रको स्मृतिमा ५ कात्तिकदेखि भीमदत्त नगरपालिका– ८ तिलाचौरस्थित त्रिभुवन माविको प्रांगणमा क्रिकेट प्रतियोगिता हुने भएको हो।
आयोजक न्यु हिमालय सामाजिक सेवा समितिका अध्यक्ष नारायणसिंह विष्टले प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको बताए। अध्यक्ष विष्टले जिल्लाभरका ९२ वटै वडाहरूमा टिम सहभागिताका लागि पत्राचार गरिएको जानकारी दिए। प्रतियोगिता संयोजक खगेन्द्र धानुकले २९ असोजदेखि कात्तिक ३ गते साँझ ७ बजेसम्म टिम दर्ता हुने बताए। ४ कात्तिक दिउँसो खेल तालिका सार्वजनिक हुनेछ।
टिम दर्ताका लागि भीमदत्त नगरपालिका– ८ तिलाचौरको राधिका हेल्थ क्लिनिक न्यु हिमालय सामाजिक सेवा समितिको सचिवालयमा राखिएको छ। एलबिडब्लूबाहेक वाइसिसी र स्थानीय अवस्थाअनुरूप खेल खेलाइने बताइएको छ। टिम दर्ताका लागि २० हजार रुपैयाँ शुल्क तोकिएको छ। प्रतियोगिताको विजेता टिमलाई नगद एक लाख ५५ हजार ५५५ रुपैयाँ र उपविजेता टिमलाई ७७ हजार ७७७ रुपैयाँसहित मेडल र ट्रफी प्रदान गरिनेछ।
०६६ सालमा निधन भएका कांग्रेस कञ्चनपुरका युवा नेता एवं स्थानीय समाजसेवी मिश्रको स्मृतिमा ०७२ सालदेखि क्रिकेट प्रतियोगिता हुँदै आएको छ।