मनसुन बाहिरिएसँगै बाढी पूर्वानुमान पनि स्थगित

मंगलबार, २९ असोज, २०८१
डिजिटल संस्करण
मनसुन बाहिरिएसँगै बाढी पूर्वानुमान पनि स्थगित

फाइल तस्बिर

नेपाली आकाशबाट मनसुन बाहिरिएसँगै जल तथा मौसम विज्ञान विभागले बाढी पूर्वानुमान पनि स्थगित गरेको छ।

विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार मनसुन पूर्ण रूपमा बाहिरिएसँगै नदीमा बहाव उल्लेख्य बढ्ने नदेखिएकाले बाढी पूर्वानुमान र पूर्वसूचनासम्बन्धी नियमित कार्य अर्को मनसुनसम्म स्थगित गरिएको हो।

महाशाखाले मनसुनताका हरेक दिन बिहान ७ बजे बाढी पूर्वानुमान बुलेटिन जारी गर्ने गर्छ भने बाढी पूर्वसूचनाको टोलफ्री ११५५(२) २४ घन्टा सञ्चालनमा ल्याउने गर्छ। त्यस्तै, बाढीको जोखिम रहेका क्षेत्रका नागरिकलाई मोबाइल एसएमएस पठाइन्छ।

तर, मनसुनपछि नेपालमा बाढीको सम्भावना खासै नहुने भएकाले महाशाखाले यी सबै सेवा आगामी जेठसम्मका लागि स्थगित गरेको हो। नेपालमा मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ रहे पनि १० दिन ढिलो अर्थात् गत शनिबार बाहिरिएको छ।

मनसुन बाहिरिएसँगै अब वर्षाका गतिविधि पनि घट्दै जाने आकलन गरिएको छ। पोस्ट–मनसुनमा पश्चिमी वायु सक्रिय हुने भए पनि मनसुनजस्तो ठुलो वर्षा वा झरी हुँदैन।

See More On

सुझावित समाचार