नेपाल प्रहरीले विजयादशमीको अवसरमा आज काठमाडौं उपत्यकामा निःशुल्क रूपमा बससेवा सञ्चालन गरिने जनाएको छ । सार्वजनिक यातायातका साधनहरू न्यून चल्ने हुँदा नागरिकलाई आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले आज दिनभरि रिङरोडभित्र र बाहिर गरी दुईवटा बस निःशुल्क रूपमा सञ्चालन गर्ने योजना बनेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
उनले भने, ‘आज टीकाको दिन सार्वजनिक यातायात निकै कम चल्छन्, जसले टीका थाप्न वा अन्य अत्यावश्यक कामका लागि आवतजावत गर्न समस्या हुन्छ । त्यसैले यो योजना अघि सारेका हौँ ।’
एउटा बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्साल फिर्ता हुनेछ ।
यस्तै, अर्को बस नक्सालबाट छुटेर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधान कार्यालय नक्साल आइपुग्ने प्रवक्ता कार्कीले जानकारी दिए। रासस