आश्विन शुक्ल दशमी : मान्यजनबाट टीका ग्रहण गर्ने दिन

शनिबार, २६ असोज, २०८१
डिजिटल संस्करण

बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभसाइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ।
 
दसैँघर वा पूजाकोठामा नौ दिनसम्म पूजा–आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चांग निर्णायक विकास समितिले आज बिहान ११ः३६ बजेको साइत उत्तम रहेको जनाएको छ। 

विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने  समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए। 

‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभसाइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साह शक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ,’ उनले भने।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ। आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्।

समितिले घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान ८ः३३ बजे रहेको छ।  

लगाइमाग्ने पूर्व, लगाइदिने पश्चिम फर्कनुपर्ने
विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने बताउँछन्– धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा.डा. देवमणि भट्टराई । यसरी बस्दा आशीर्वाद लिनेको दाहिने चन्द्रमा पर्छन्। चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उनले सुनाए। टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ। जमराले विभिन्न रोगव्याधमा औषधिको रूपमा काम गर्ने तथ्य वैज्ञानिक रूपमा समेत पुष्टि भइसकेको छ। अहिले पनि नेपालका धेरै जिल्लामा डेँगुको संक्रमण फैलिरहेकाले जमराको जुस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडादसैँकै सबैभन्दा महत्त्वपूर्ण दिन हो। 

 त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ। यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ।

आज गुरु, पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठुलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरूबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ। 

विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ–
 आयुद्रोणसुते श्रियं  दशरथे शत्रुक्षयं राघवे । 
 ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
 शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
 विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
    
अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शूरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान–विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ।
 यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ। महिलालाई भने दुर्गा देवीको स्वरूप मानेर निम्नलिखित मन्त्रले आशीर्वाद दिइन्छ। 

जयन्ती मंगला काली भद्रकाली कपालिनी  ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा यी नाम गरेकी देवी तपाईंलाई धेरै–धेरै नमस्कार छ। यिनै मन्त्रले आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटामा भिड लाग्छ। नेपालका केही भागमा भने कुल, परम्पराअनुसार आज मात्र दुर्गा देवीको प्रसादका रूपमा टीका र जमरा लगाउने गरिन्छ। अधिकांश स्थानमा भने कोजाग्रत पूर्णिमाका दिनसम्म नै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ।

सुझावित समाचार