सरकारले बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणमा जापानको सहयोगका लागि लबिङ थालेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)मार्फत राजमार्ग पुनर्निर्माणमा सघाउन भन्दै जापान सरकारसँग अनौपचारिक प्रस्ताव गरेको हो ।
जापान सरकारको २६ अर्ब येनबराबरको आर्थिक र प्राविधिक सहयोगमा एक सय ६० किमि लामो (धुलिखेल–सिन्धुली–बर्दीबास) उक्त सडक निर्माण गरिएको थियो । जापानको सहयोगमा बनेको सडक भएकै कारण उसैको सहयोगमा पुनर्निर्माण गर्दा उपयुक्त हुने सोचसहित मन्त्रालयले ‘लबिङ’ गरेको हो ।
केही दिनअघि मन्त्रालयलगायतका सरकारी निकाय र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का नेपाल प्रतिनिधिसँग भएको नियमित बैठकमा जापानको ध्यानाकर्षण गराइएको मन्त्रालयका सचिव केशवप्रसाद शर्माले जानकारी दिए । उनले औपचारिक आग्रह भने नगरिएको बताए ।
‘यसकै लागि भनेर जाइकासँग छुट्टै बैठक भएको थिएन । केही दिनअघि भएको नियमित बैठकमा बिपी राजमार्गमा बाढीले पु¥याएको क्षतिबारे ध्यानाकर्षण गरेका छौँ,’ उनले भने, ‘त्यसमा उहाँहरूले सम्बन्धित निकायमा सूचना प्रवाह गर्ने भन्नुभएको छ । त्यसपछि थप जानकारी आएको छैन ।’
सामान्यतः जसको सहयोगमा सडक परियोजना बनेको छ, उसले नै उक्त सडकको विशेष मर्मत–सम्भार तथा विस्तार गर्ने अभ्यास छ । काठमाडौं उपत्यका चक्रपथ, अरनिको राजमार्ग, हिल्सा–सिमकोट चीनको सहयोगमा बनेको थियो । त्यसको मर्मत–सम्भार तथा विस्तार पनि चीनले नै गर्दै आएको छ ।
गत ६ भदौ (अगस्ट २२) मा नेपाल र चीनबिच काठमाडौं चक्रपथको दोस्रो खण्ड, हिल्सा–सिमिकोट सडकको स्तरोन्नति, अरनिको राजमार्गको स्तरोन्नति (चौथो चरण) र मुस्ताङको कोरला नाकामा आइसिपी र आइसिडी निर्माणलगायतका नयाँ ब्याचको बिआरआई परियोजनाहरूको सहयोग आदान–प्रदानसम्बन्धी पत्रमा हस्ताक्षर पनि भएको थियो । यसरी चीनले आफ्नो सहयोगमा बनेको परियोजनाको विस्तारमा पनि सहयोग गर्दै आएको छ ।
यस्तै, ५२ किलोमिटर धरान–धनकुटा सडक बेलायतको आर्थिक सहयोगमा ०३३ मा निर्माण गरिएको थियो । त्यो सडक पनि बेलायत सरकारकै आर्थिक सहयोगमा मर्मत तथा विस्तार हुँदै आएको छ । सोहीअनुसार पछिल्लो बाढीले क्षतिग्रस्त बिपी राजमार्गको पुनस्र्थापनामा पनि जापानलाई आर्थिक तथा प्राविधिक सहयोग गरिदिन मन्त्रालयले ध्यानाकर्षण गराएको हो । त्यसमा जापानबाट कुनै ठोस जवाफ भने नआएको मन्त्रालयको भनाइ छ ।
पूर्व र मधेशलाई काठमाडौंसँग छोटो दूरीमा जोड्ने यो सडक जापानी सहयोगमा ०५३/५४ देखि सुरु भएर ०७२ सालमा सम्पन्न भएको थियो । त्यहाँको भौगोलिक तथा वातावरणीय अवस्थाअनुसार डिजाइन गरेर यो सडक निर्माण गरिएको हो । पछिल्लो अद्यावधिक तथ्यांकअनुसार काभ्रेपलाञ्चोकको रोशीदेखि नेपालथोकसम्म विभिन्न स्थानमा १२ किलोमिटर सडक बाढीले बगाएको छ । सो स्थानमा सडकको नामोनिसान नै नभएको सचिव शर्माले बताए । अहिले त्यहाँ यातायात सञ्चालन गर्न ट्र्याक खोल्ने काम भइरहेको छ ।
बिपी राजमार्गको पुनस्र्थापनामा कति लगानी चाहिन्छ भनेर निक्र्याेल हुन बाँकी छ । पहिला उक्त सडक प्रतिकिलोमिटर झन्डै १९ करोडमा बनेको थियो । यसपालि त्योभन्दा बढी लागत चाहिने अनुमान गरिएको छ । तर, जापानकै आशामा बसेर सडक पुनर्निर्माणमा ढिलाइ नहुने सचिव शर्माले बताए । ‘जापानकै आर्थिक तथा प्राविधिक सहयोगमा सडक बनेको हुनाले उक्त क्षतिबारे उनीहरूलाई जानकारी गराएका छौँ । साथै, पुनर्निर्माणमा आर्थिक तथा प्राविधिक सहयोग गर्न संकेत पनि गरेका छौँ । आगामी दिनमा छलफल गरेर पनि यो विषयलाई अन्तिम टुंगोमा पुर्याउन सकिन्छ,’ उनले भने, ‘तर, त्यसो भन्दैमा जापानकै आशामा बसेर सडक पुनर्निर्माणमा ढिलाइ गर्दैनौँ । पुनर्निर्माणको काम भने अघि बढ्छ ।’
तिहारसम्म बिपी राजमार्ग सञ्चालनमा आउने
तिहारसम्म अवरुद्ध बिपी राजमार्ग खुलाउने तयारी गरिएको छ । दसैँअघि भने उक्त सडक सञ्चालनमा ल्याउन नसकिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवप्रसाद शर्माले जानकारी दिए । ‘त्यहाँ वैकल्पिक मार्ग नभएका कारण यातायात सञ्चालन गर्न नयाँ ट्र्याक नै खोल्नुपर्ने बाध्यता छ । मौसम सफा भएसँगै खोलाको बगरलगायतका ठाउँ प्रयोग गरेर ट्र्याक खोल्ने काम भइरहेको छ,’ उनले भने, ‘दसैँअघि ट्र्याक खोल्न सम्भव छैन । तिहारसम्म त्यो सडक खुल्छ । तर, सडकको पुनस्र्थापना गर्न भने समय लाग्छ ।’
सडक पुनस्र्थापनाका लागि नयाँ बजेट व्यवस्थापन गरेर र खरिद प्रक्रियामार्फत नै अघि बढ्नुपर्ने उनको भनाइ छ । त्यसभन्दा अघि कुन प्रविधि प्रयोग गरेर सडक बनाउने भनेर थप अध्ययन पनि गर्नुपर्ने देखिएको छ । शर्माका अनुसार क्षतिग्रस्त सडकको पुनस्र्थापनामा नयाँ प्रविधि नै प्रयोग गर्ने काम भइरहेको छ । त्यसो गर्दा यसमा समय लाग्ने उनको भनाइ छ । ‘पुरानै प्रविधिमा सडकको पुनर्स्थापना गर्दा भविष्यमा आउन सक्ने यस्तै बाढीपहिरोले पुनः सडक बगाउनेलगायतका समस्या आउन सक्छन् ।
तसर्थ, हामी त्यहाँको भौगोलिक र वातावरणीय अवस्था तथा भविष्यको जोेखिमलाई समेत केन्द्रमा राखेर नयाँ प्रविधि प्रयोग गर्ने गरी परामर्श लिने काम गरिरहेका छौँ,’ उनले भने, ‘साथै, त्यो प्रविधि जापानमा पनि प्रस्ताव गर्छाैँ । सहमतिमै सडकलाई दीर्घकालीन बनाउने गरी उचित प्रविधि प्रयोग गरी सडकको पुनर्स्थापना गर्छाैँ ।’
पहिला तलबाट ‘वाल’ उठाएर र कम मात्रामा भित्ता कटान गरेर सडक निर्माण गरिएको थियो । तर, अहिले रोशी खोलामा अस्वाभाविक बाढी आउँदा सडक बगाएको छ । आगामी दिनमा यस्ता बाढी आए पनि थेग्ने गरी सडकको पुनस्र्थापना गर्ने सरकारको लक्ष्य छ ।
नेपालको विपत्मा विश्व बैंकले १५ करोड डलर सहयोग गर्ने
विश्व बैंकले नेपालको प्राकृतिक विपत् र स्वास्थ्य आकस्मिकताका लागि १५ करोड अमेरिकी डलर ऋण दिने भएको छ । विश्व बैंकका कार्यकारी निर्देशकहरूको बोर्डले यो रकम स्वीकृत गरेको हो ।नेपाल डिजास्टर रेजिलेन्स डेभलपमेन्ट पोलिसी क्रेडिट विथ क्यास्टास्ट्रोफी डिफर्ड ड्रडाउन अप्सन (क्याट डिडिओ) कार्यक्रमले प्रकोप प्रतिरोधात्मक क्षमता बढाउन नीति र नियामक सुधारमा सहयोग गर्ने भएको हो ।
त्यस्तै, विपत् तत्काल प्रतिरक्षाका लागि संस्थागत संयन्त्रलाई बलियो बनाउन पनि यसले सहयोग गर्नेछ । यसले सरकारलाई अग्रिम चेतावनी दिने प्रणालीमा सुधार गर्न र जोखिम न्यूनीकरणका लागि आवश्यक नीतिगत, संस्थागत र नियामक ढाँचा निर्माण गर्न मद्दत गर्नेछ । ‘हालै केही साताअघिको बाढीले नेपालको प्राकृतिक र जलवायु प्रेरित जोखिम र स्वास्थ्य आपत्कालिन अवस्था व्यहोर्नुपरेको छ । यसले देशलाई गम्भीर आर्थिक जोखिममा पारेको छ,’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंक क्षेत्रीय निर्देशक डेभिड सिस्लेनले भने ।