सचिनको रेकर्ड पछ्याउँदै रुट

बिहिबार, २४ असोज, २०८१
डिजिटल संस्करण

इंग्ल्यान्ड टेस्ट क्रिकेटमा जोए रुट सर्वाधिक व्यक्तिगत रन बनाउने खेलाडी बनेका छन् । रुटले पाकिस्तानविरुद्धको पहिलो टेस्टमा ७१ रन जोड्दै रेकर्ड बनाएका हुन् । उनले एलेस्टर कुकको रेकर्ड भंग गरेका हुन् । मुल्तानमा चलिरहेको पहिलो टेस्टको तेस्रो दिन रुटलाई रेकर्ड बनाउन ७० रन आवश्यक थियो । मुल्तान अन्तर्राष्ट्रिय रंगशालामा उनले पाकिस्तानी बलर अजमेर जमालको ओभरमा ड्राइभ गर्दै इंग्ल्यान्डका लागि टेस्ट खेलमा सर्वाधिक रन बनाउने रेकर्ड आफ्नो नाममा राखेका हुन् । 

रुट ६५ रनमा एलबिडब्लु हुनबाट जोगिएका थिए । अमेर इमालको ओभरमा उनको ब्याडमा बल लागेको थियो । पाकिस्तानी फिल्डरले एलबिडब्लुको अपिल गरेका थिए । टेस्टमा भारतका सचिन तेन्दुलकरले सर्वाधिन रनको विश्वकीर्तिमान राखेका छन् । उनले दुई सय टेस्ट खेलमा १५ हजार ९२१ रन जोडेका छन् । टेस्टमा सर्वाधिक रन बनाउने शीर्ष चार खेलाडीले सन्न्यास लिइसकेका छन् । अहिले रुट १२ हजार ५२२ रनका साथ पाँचौँ स्थानमा छन् । शीर्ष ६ देखि १० सम्मका खेलाडीले पनि सन्न्यास लिएका छन् । 

शीर्ष १० भित्र रुट मात्र एक्ला सक्रिय खेलाडी हुन् । उनीसँग अझै तीन–चार वर्ष करिअर बाँकी छ । सचिनको विश्व रेकर्ड तोड्न रुटलाई तीन हजार ३९९ रन जोड्नुपर्छ । रुटले इंग्ल्यान्डका लागि टेस्ट खेलमा धेरै शतक बनाउने रेकर्ड पनि बनाएका छन् । उनले १४७ टेस्टमा ३५ शतकीय इनिङ्स खेलेका छन् । दोस्रो स्थानमा रहेका कुकले १६१ टेस्टमा ३३ शतक लगाएका छन् । रुटभन्दा माथि भारतका राहुल द्रविडले ३६, दक्षिण अफ्रिकाका ज्याक कालिसले ४५, अस्ट्रेलियाका रिकी पोन्टिङले ४१ तथा भारतका सचिनले ५१ टेस्ट शतक बनाएका छन् । सचिनको नाममा रहेको सर्वाधिक टेस्ट शतक पार गर्न रुटलाई अझै १३ शतक आवश्यक पर्छ । 

टेस्टमा रेकर्ड राख्ने योजना 
इंग्ल्यान्डका पूर्वकप्तान कुकले राखेको सर्वाधिक रन तथा शतकको रेकर्ड तोडेपछि हौसिएका रुटले सन्न्यासअगाडि सबै रेकर्ड आफ्नो नाममा राख्ने योजना रहेको बताएका छन् । ‘म देख्छु कि कुनै दिन सचिनले बनाएको रेकर्ड पनि तोडिनेछ,’ उनले भने, ‘म चाहन्छु, सन्न्यासअगाडि सम्भव भएसम्म टेस्टका सबै रेकर्ड राख्ने कोसिस गर्छु ।’ सन् २०१२ मा नागपुरमा भारतविरुद्ध डेब्यु गरेका रुटले पाकिस्तानसँगको प्रतिस्पर्धामा व्यक्तिगत २५४ रनको योगदान दिएका थिए । सेफिल्डमा जन्मेका उनले इंग्ल्यान्डका लागि ६४ टेस्टमा कप्तानी गरेका छन् । 

उनले सचिन अहिले पनि आफ्नो मन पर्ने खेलाडी भएको जनाएका छन् । ‘अहिले पनि सचिनलाई आदर्श खेलाडीका रूपमा लिने गरेको छु, करिअरमा चोटका कारण धेरै राम्रा खेलाडी पछि परेका छन्, तर सचिनको हकमा यस्तो केही भएन, यसकारण उनी महान् खेलाडी बनेका हुन्,’ रुटले भने, ‘म पनि आफूलाई फिट राख्ने प्रयास गर्दै करिअर अगाडि बढाइरहेको छु ।’

एसेजको तयारी 
विश्व क्रिकेटमा सबैभन्दा प्रतिष्ठित टेस्ट सिरिज अस्ट्रेलिया र इंग्ल्यान्डबिचको एसेज हो । अस्ट्रेलियामा हुने सिरिज आउन १४ महिना बाँकी छ । यस अवधिमा इंग्ल्यान्डले राम्रो तयारीको अवसर पाएको रुटको भनाइ छ । ‘हामीसँग लगभग १४ महिना समय छ, एसेजअगाडि यस अवधिमा राम्रो तयारी हुने विश्वास छ,’ उनले भने, ‘सम्भवतः एसेज नै अन्तिम टेस्ट सिरिज हुन पनि सक्छ ।’ रुटले २०२३ को सिजनमा ६१ को औसतमा ब्याटिङ गरिरहेका छन् । अर्को वर्ष अस्ट्रेलियाले आयोजना गर्ने टेस्टले रेकर्ड बनाउनेछ । टेस्ट खेल सुरु भएको १५० वर्षका अवसरमा अस्ट्रेलिया र इंग्ल्यान्डबिच एक टेस्ट खेल हुनेछ । यी दुवै राष्ट्रबिच पहिलो टेस्ट खेल भएको थियो । 

See More On

सुझावित समाचार