झापाको शिवसताक्षी नगरपालिका– ८ झिलझिलेमा समाजसेवी सांस्कृतिक तथा सांगीतिक मिनी मेलाको दोस्रो संस्करण असोज २४ गतेदेखि सुरु हुने भएको छ।
कात्तिक ३ गतेसम्म चल्ने मेलामा दसैँलक्षित सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम हुने समाजसेवी क्लबका सल्लाहकार सुरज रिङलुङ राईले पत्रकार सम्मेलनमा जानकारी दिए। मेलामा विभिन्न राष्ट्रिय र स्थानीय संगीत ब्यान्डहरूको प्रस्तुति हुनेछ।
पहिलो दिन असोज २४ गते एएस ब्यान्ड, २५ गते लिजाड ब्यान्ड, २६ गते डब्लुई ब्यान्ड, २८ गते बादल लिम्बू र नुमा राईलगायतका ब्यान्डहरूले सांगीतिक प्रस्तुति दिनेछन्। साथमा, हाउजी बिंगो तम्बोला खेलसमेत खेलाइनेछ।
मेलाबाट संकलित रकमले सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक र स्टेसनरी सामग्री वितरण गरिने उनले बताए।
कार्यक्रम संयोजक प्रताप खापुङले मेलाको तयारी तीव्र गतिमा भइरहेको बताए। मेला २४ गते बेलुका प्रतिनिधिसभा सदस्य एलपी साँवा लिम्बूको प्रमुख आतिथ्यमा उद्घाटन हुनेछ।