जोकोभिकले जिते आधा घण्टामै खेल

बुधबार, २३ असोज, २०८१
डिजिटल संस्करण

सर्बियाली नोभाक जोकोभिक करिअरकै १०० एकल उपाधि जित्ने सँघारमा छन् । संघाई मास्टर्स टेनिस प्रतियोगितामा जोकोभिकले आफ्नो यस अभियानलाई पूरा गर्ने लक्ष्य राखेका छन् । यसैक्रममा उनले प्रिक्वार्टरफाइनल स्थान पक्का गरेका छन् । इटालीका युवा खेलाडी फाभियो काबोलीलाई केवल आधा घण्टामै पराजित गर्दै उनले अन्तिम १६ को स्थान सुरक्षित गरे । ३७ वर्षीया जोकोभिकले काबोलीलाई ६–१ र ६–२ ले हराएका थिए । अन्तर्राष्ट्रिय टेनिसमा जोकोभिकको तुलनामा काबोलीसँग अनुभव कम छ । 

इटालीका खेलाडी काबोलीले तेस्रो चरणमा जोकोभिकविरुद्ध केवल आधा घण्टाभन्दा बढी टिक्न सकेनन् । काबोलीले धेरैपटक अनावश्यक प्रहार गरेका थिए । जोकोभिकले दुई सेटमा केवल सर्भिसमा सात अंक मात्र गुमाए । अब जोकोभिकले प्रिक्वार्टरफाइनलमा एटिपी वरीयताको चौथो स्थानमा रहेका रसियाली खेलाडी रोमान साफिलिनविरुद्ध खेल्नेछन् । टेनिस इतिहासमा जिमी कर्नरले सर्वाधिक १०९ एकल उपाधि जितेका छन् । स्विट्जरल्यान्डका रोजर फेडेररले १०३ एकल उपाधिका साथ दोस्रो स्थानमा छन् । 

जोकोभिक तेस्रो खेलाडीका रूपमा सय एकल उपाधि जित्ने तरखरमा छन् । जोकोभिक संघाईमा पाँच वर्षपछि फर्किएका हुन् । उनले अन्तिमपटक सन् २०१९ मा यहाँ प्रतिस्पर्धा गरेका थिए । ‘संघाईमा पुनः एकपटक प्रतिस्पर्धा गर्न पाउँदा खुसी लागेको छ,’ उनले भने, ‘म यहाँ आफ्नो सय उपाधि जित्ने लक्ष्यका साथ आएको हुँ ।’ जोकोभिकका प्रतिस्पर्धी काबोली एटिपी वरीयताको ३०औँ स्थानमा छन् । यस सिजनमा उनको प्रदर्शन राम्रो भइरहेको छ । तर, संघाईमा चलिरहेको मास्टर्समा उनी जोकोभिकअगाडि कमजोर देखिए । 

जोकोभिकले फर्ममा रहेका खेलाडीविरुद्ध आक्रामक शैली अपनाएका थिए । उनले पहिलो तथा दोस्रो सेटमा ब्याक ह्यान्ड र सर्भिसको सहयोगमा काबोलीमाथि दबाब राखेका थिए । ‘मेरो योजना नै विपक्षी खेलाडीमाथि पहिलो सर्भिसदेखि दबाब राख्ने हो,’ उनले भने, ‘काबोलीविरुद्ध यस्तै रणनीति बनाएको थिएँ ।

जोकोभिकका प्रतिस्पर्धी दण्डित
प्रिक्वार्टरफाइनलमा जोकोभिकविरुद्ध प्रतिस्पर्धा गर्ने रोमानले अम्पायरविरुद्ध अपशब्द प्रयोग गरेका कारण दण्डित भएका छन् । अमेरिकाका १३औँ वरीयता खेलाडी फ्रान्सिसविरुद्ध ५–७–७–५ र ७–६ ले खेल जितेका रोमान चियर अम्पायरविरुद्ध अपशब्द बोलेका थिए । एटिपीको नियमअनुसार उनले ६० लाख अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । चियर अम्पायरले एटिपीका अफिसियललाई बुझाएको प्रतिवेदनअनुसार रोमानमाथि थप कारबाही हुन सक्छ । दुईपटकका युएस ओपन सेमिफाइनलिस्ट रोमान सम्भवतः खेलमा समेत प्रतिबन्ध हुन सक्ने एजेन्सीले जनाएको छ । तेस्रो तथा अन्तिम सेट ५–५ को टाइब्रेकर हुँदा रोमानले विजयी अंक प्रहार गरेको दाबी गरेका थिए । 

See More On

सुझावित समाचार