महिला साफ च्याम्पियनसिप : एएफसीले दशरथ रंगशालाको मैदानलाई अनुमति दिने–नदिने अझै अनिश्चित

बुधबार, २३ असोज, २०८१
डिजिटल संस्करण

सातौँ संस्करणको दक्षिण एसियाली महिला फुटबल (साफ) च्याम्पियनसिप १–१४ कात्तिकसम्म नेपालमा हुने तय भएको छ । तर, दशरथ रंगशाला प्रतियोगिताका लागि योग्य रहे–नरहेको एसियन फुटबल महासंघ (एएफसी)ले टुंगो लगाउँदै छ। त्यसका लागि २७ असोजमा मैदान निरीक्षण गर्न एएफसीका म्याच कमिस्नर काठमाडौं आउँदै छन् । यद्यपि, अखिल नेपाल फुटबल संघ (एन्फा)ले भने सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । 

यसअघि, दशरथ रंगशाला अन्तर्राष्ट्रियस्तरको नहुँदा फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत २४ जेठमा तय भएको नेपाल र युएईबिचको खेल तटस्थ भूमिमा भएको थियो । त्यसवेला एएफसीले दशरथ रंगशालाको मैदानमाथि प्रश्न उठाउँदै छनोट खेल तेस्रो मुलुकमा सारेको थियो । 

यसपटक पनि एएफसीले अन्तर्राष्ट्रिय खेल आयोजना गर्न मिल्ने भए मात्र एन्फालाई सातौँ संस्करणको साफ च्याम्पियनसिप गर्न अनुमति दिनेछन् । यदि मैदान अन्तर्राष्ट्रियस्तरको नभए म्याच कमिस्नरले आयोजना गर्न नदिन पनि सक्छन् । म्याच कमिस्नरको अन्तिम प्रतिवेदन नआउँदासम्म साफ च्याम्पियनसिप हुने वा नहुने अझै टुंगो लागेको छैन । 

एन्फाका प्रतिनिधिले एसिया सेभेन्स रग्बी च्याम्पियनसिपको आयोजनाले मैदानको हरियो घाँस र ग्राउन्ड लेभल बिग्रेको बताएका छन् । एन्फाका उपाध्यक्ष दीपक खतिवडाले प्रधानमन्त्री र खेलकुदमन्त्रीको निर्देशन नमानी राखेपले रग्बी प्रतियोगिता गर्न दिएर मैदान बिगारेको आरोप लगाएका छन् । ‘प्रधानमन्त्री र खेलकुदमन्त्रीले रंगशालामा फुटबलबाहेक अन्य खेल गतिविधि गर्न नदिन निर्देशन दिँदा पनि सदस्यसचिवले एकलौटी रूपमा रग्बी आयोजना गर्न दिए, जसका कारण मैदानमा केही खराब आएको छ,’ खतिवडाले भने । 

एन्फाका प्रतियोगिता संयोजक सञ्जीव मिश्रले म्याच कमिस्नर आउनुअघि रंगशाला खेल्नयोग्य हुने बताए । ‘दशरथ रंगशालाको घाँस केही पहेँलो भए पनि म्याच कमिस्नर आउनुअघि नै हामी मैदान खेल्नलायक बनाउने प्रयासमा छौँ,’ मिश्रले मंगलबार पत्रकार सम्मेलनमा भने, ‘हामीसँग अझै केही दिन समय छ ।’

विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपाल र कुवेतबिचको खेल पनि दशरथ रंगशालामा भएन । रंगशाला पूर्ण रूपमा तयारी नहुँदा नै यो खेल पनि सारिएको थियो । गत वैशाखमा राष्ट्रिय खेलकुद परिषद्ले एन्फाबाट रंगशालाको स्वामित्व आफूमा लिएको थियो । यसअघि एन्फाले नै रंगशालाको सबै हेरचाह गर्दै आएको थियो । लगातार दुईपटक विश्वकप छनोट खेल नहुँदा राखेपले आफूले रेखदेख गर्यो । 

राखेपको दुई महिना प्रयासपछि एएफसीले रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्यो । त्यसलगत्तै गत साउनमा एएफसी च्यालेन्ज कप प्लेअफ खेलमा चर्च ब्वाइज युनाइटेडले भुटानको पारो एफसीसँग प्रतिस्पर्धा भयो । हल्का वर्षाले मैदान पूरै हिलाम्ये बन्यो । जापानका चर्चित स्ट्राइकर होन्डाले रंगशालाजस्तो मैदानमा जीवनमा कहिले नखेलेको आलोचना गरेका थिए ।

विदेशी खेलाडी र मिडियाले समेत रंगशालाको स्तरमाथि प्रश्न उठाएपछि युवा तथा खेलकुद मन्त्रालयले यहाँ फुटबल गतिविधिबाहेक अन्य प्रतियोगिता आयोजना गर्न नपाउने निर्देशन राखेपलाई दिएको थियो । तर, राखेपका सदस्यसचिव टंकलाल घिसिङले नेपाल रग्बी संघलाई दुई दिनका लागि एसियन सेभेन्स रग्बी आयोजना गर्न दिए । लगातार खेलले मैदानमा हरियो घाँस तथा लेभल बिग्रेको अवस्था छ । एन्फाले यी दुवै पक्ष मर्मत गर्ने जनाएको छ । 

 नेपाल समूह ‘बी’मा
प्रतियोगिताको समूह ‘बी’मा नेपालले श्रीलंका, माल्दिभ्स र भुटानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । महिला फिफा वरीयताअनुसार यस समूहमा नेपाल शीर्ष स्थानमा छ । फिफाको पछिल्लो वरीयतामा नेपाल ९९ स्थानमा छ । यसैगरी, श्रीलंका एक सय ५७औँ, माल्दिभ्स १६१ र भुटान १७२औँ स्थानमा छन् । नेपालले अहिलेसम्म यी तीनवटै राष्ट्रविरुद्ध हारको सामना गरेको छैन । अर्को समूह ‘ए’मा सर्वाधिक पाँचपटकको विजेता भारत, पाकिस्तान र साबिक विजेता बंगलादेशले एक–आपसमा प्रतिस्पर्धा गर्नेछन् । 

यस समूहमा भारत फिफा वरीयतामा माथि रहेको छ । फिफाको पछिल्लो वरीयताअनुसार भारत ६८औँ स्थानमा रहेको छ । बंगलादेश १३९ र पाकिस्तान १५८औँ स्थानमा छ । सातौँ संस्करणको उद्घाटन खेलमा भारतले पाकिस्तानको सामना गर्नेछ । आयोजक नेपालले खेल २ कात्तिकमा भुटानसँग हुनेछ । 

 तामाङको प्रशिक्षणमा नेपाली टोली
घरेलु मैदानमा हुने प्रतिस्पर्धामा सहभागी हुने महिला खेलाडीलाई राजेन्द्र तामाङले प्रशिक्षण दिइराखेका छन् । एन्फा र प्रशिक्षक तामाङमा प्रतियोतिगाको टोली तयार गर्न प्रारम्भिक ४० खेलाडी छनोट गरेका थिए । एन्फाले मंगलबारबाट २७ खेलाडीमा सीमित बनाएर प्रशिक्षण गराएको छ । एन्फाले सावित्रा र रेखाबाहेक २५ सदस्यीय खेलाडीलाई क्लोज क्याम्पमा प्रशिक्षण दिएको छ ।

एन्फाले सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकोबाट खेलाडी छनोट गरेको हो । फ्रान्समा व्यावसायिक फुटबल खेलिरहेकी सावित्रा भण्डारी र साउदी अरेबियाको क्लबमा आबद्ध रेखा पौडेल साफ च्याम्पियनसिपमा सहभागी हुनेछन् । यी दुवै खेलाडीलाई सम्बन्धित क्लबले रिलिज गर्ने विश्वास एन्फाले लिएकोछ । यसैबिच, एन्फाले सहभागी टोलीको प्रशिक्षण निमित्त सातदोबाटोको एन्फा कम्प्लेक्स, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान तथा सेन्ट जेभियर्सको खेलमैदानमा उपलब्ध गराउने भएको छ ।

लगातार तेस्रोपटक नेपालमा महिला साफ च्याम्पियनसिप
नेपालले लगातार तेस्रोपटक दक्षिण एसियाली महिला फुटबल (साफ) च्याम्पियनसिप आयोजना गर्दै छ । यसअघि नेपालले सन् २०१९ र ०२२ को संस्करण आयोजना गरेको थियो । सन् २०१९ मा विराटनगरमा प्रतियोगिता भएको थियो । नेपालको तुलनामा भौतिक पूर्वाधारले सम्पन्न राष्ट्र भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानले एक–एकपटक प्रतियोगिता आयोजना गरेका छन् । माल्दिभ्स र भुटानले भने अहिलेसम्म प्रतियोगिता आयोजनाको दाबी गरेका छैनन् । दशरथ रंगशालामा १–१४ कात्तिकसम्म हुने सातौँ संस्करणको साफ च्याम्पियनसिपको तयारी पूरा भएको आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । 

६ मध्ये पाँच संस्करणको फाइनल नेपालले खेलेको थियो । नेपालले भारतसँग चार र बंगलादेशविरुद्ध एक फाइनल खेल गुमाएको थियो । सन् २०२२ मा दशरथ रंगशालामा भएको उपाधि भिडन्तमा नेपालमाथि बंगलादेशले एक पक्षीय जित हात पारेको थियो । सन् २०१०, ०१२, ०१४ र ०१९ का संस्करणमा नेपाल भारतसँग पराजित भयो । सन् २०१६ को संस्करणमा नेपाल सेमिफाइनलमा रोकिएको थियो । 

प्रतियोगितामा भारतबाहेक बंगलादेशले मात्र ट्रफी उचालेको छ । श्रीलंका, भुटान, माल्दिभ्स र पाकिस्तानले फाइनल स्थान बनाउन सकेका छैनन् । श्रीलंका २०१२, ०१४ र ०१९ को संस्करणमा सेमिफाइनल पुगेको थियो । भुटान सन् २०२२, माल्दिभ्स २०१६ र पाकिस्तानले २०१२ को संस्करण सेमिफाइनल खेलेको थियो । दक्षिण एसियाली राष्ट्र अफगानिस्तानले सन् २०१२ मा भाग लियो । त्यसपछिका संस्करणमा अफगानिस्तान प्रतियोगितामा सहभागी नै भएनन् ।

सातौँ संस्करणमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी सात राष्ट्रले प्रतिस्पर्धा एन्फाका प्रवक्ता सुरेश शाहले बताए । ‘अहिलेसम्म सात राष्ट्रले भाग लिनेछन्, पाकिस्तानले आधिकारिक रूपमा प्रतियोगितामा भाग लिने वा नलिने बारेमा जानकारी आएको छैन,’ शाहले भने । प्रतियोगिताको बजेट चार करोड ६० लाख आठ सय रुपैयाँ छ । दक्षिण एसियाली फुटबल महासंघले बजेट उपलब्ध गराउने उनले बताए । ‘प्रतियोगिताको बजेट महासंघले उपलब्ध गराउने छ,’ उनले भने । 

सुझावित समाचार