कान्ति लोकपथ सञ्चालन, हेटौँडाबाट काठमाडौं पुग्ने सबै बाटा खुले

मंगलबार, २२ असोज, २०८१
डिजिटल संस्करण

बागमती प्रदेशको राजधानी हेटौँडाबाट संघीय राजधानी काठमाडौं पुग्ने सबै बाटा सञ्चालनमा आएका छन्।

ललितपुर–मकवानपुर जोड्ने बागमती नदीमाथिको बगुवा पुलसम्मको पहुँचमार्ग मर्मत गरेपछि कान्ति लोकपथ सञ्चालनमा आएको छ। यससँगै बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने सबै छोटा मार्ग खुलेका हुन्।

११ र १२ असोजको भारी वर्षाका कारण आएको बाढीपहिरोले हेटौँडालाई काठमाडौंसँग जोड्ने सबै सडकमार्ग पूर्ण रूपमा अवरुद्ध बनाएको थियो।

बाढी र पहिरोले हेटौँडाबाट त्रिभुवन राजपथ–नौबिसे सडकमार्ग, कुलेखानी–फाखेल–मातातीर्थ मार्ग, कुलेखानी–फाखेल–फर्पिङ, कुलेखानी–सिस्नेरी–दक्षिणकाली र कान्ति लोकपथ सडकमार्गका विभिन्न स्थानमा पहिरोका साथै पुलसम्मका पहुँच मार्गहरू छतविक्षत बनाएको थियो।

मंगलबारबाट कान्ति लोकपथ भएर सवारीसाधन सञ्चालनमा आएको कान्ति लोकपथकी योजना प्रमुख रत्नलक्ष्मी बज्राचार्यले जानकारी दिइन्। उनले बागमती नदीमाथिको बगुवा पुलको मकवानपुरतर्फको पहुँच मार्ग मर्मतपछि कान्ति लोकपथ सञ्चालनमा ल्याइएको बताइन्। 

‘बागमती पुलको मकवानपुर र ललितपुर दुवैतर्फको पहुँच मार्ग मर्मतको काम सकिएको छ। मंगलबारबाट हामीले कान्ति लोकपथलाई पूर्ण रूपमा सञ्चालनमा ल्याएका छौँ,’ उनले भनिन्,  ‘कान्ति लोकपथमा अब अवरोध छैन। कुनै भवितव्य नपरे चाडपर्वलक्षित सडक सञ्चालनको काम सकिएको छ।’

योजना प्रमुख बज्राचार्यले अस्थायी रूपमा सडक सञ्चालन गरिएकाले सवारीसाधन सावधानीपूर्वक सञ्चालन गर्न सुझाव दिइन्। गत ११ र १२ असोजको अविरल वर्षाले कान्ति लोकपथअन्तर्गत बागमतीमाथिको बगुवा पुलको मकवानपुरतर्फको पहुँच मार्ग बगाउँदा सवारी आवागमन रोकिएको थियो।

यसअघि नै हेटौँडालाई काठमाडौं जोड्ने सञ्चालनमा आइसकेका छन्। अन्य सडक मार्गहरू अवरुद्ध हुँदा नेपालको पूर्वीक्षेत्रमा रहेका जिल्ला हिँडेका यात्रुले त्रिभुवन राजपथ–नौविसे सडक खण्ड र त्रिभुवन राजपथ– चित्लाङ–चन्द्रागिरिको लामो र अप्ठ्यारो बाटोबाट जोखिमपूर्ण यात्रा गर्दै आएका छन्।

कुलेखानी–फाखेल–मातातीर्थ, कुलेखानी–फाखेल–फर्पिङ, कुलेखानी–सिस्नेरी–दक्षिणकाली मार्गसँगै कान्ति लोकपथसमेत सञ्चालनमा आएपछि अब नारायणघाट–मुग्लिनलगायतका मार्गमा सवारीसाधनको चाप कम भई आवागमन सहज हुने भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले कान्ति लोकपथबाट ठुला सवारीसाधनलाई पठाउने-नपठाउनेबारे छलफल भइरहेको जानकारी दिए। उनले अहिले ठुला सवारीसाधन नारायणघाट–मुग्लिन सडक खण्डबाट सञ्चालन भइरहेको र केही ठुला सवारीसाधनलाई कान्ति लोकपथबाट सञ्चालन गर्न सके सबैतिर सवारीको चाप कम हुने विश्वास व्यक्त गरे। 

सुझावित समाचार