रिब्दिकोट गाउँपालिकामा बिदामा सरकारी सवारीसाधन नचलाउने

मंगलबार, २२ असोज, २०८१
डिजिटल संस्करण

पाल्पाको रिब्दिकोट गाउँपालिकाले दसैँ बिदाको अवधिमा सरकारी सवारीसाधन नचलाउने निर्णय गरेको छ।

दसैँको बिदा अवधि र बिदा वा काजमा बसी कार्यालयमा तीन दिनभन्दा बढी समय अनुपस्थित हुने अवस्थामा कर्मचारी तथा जनप्रतिनिधिले सरकारी सवारीसाधन सञ्चालन नगर्ने निर्णय भएको रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिए।

बिदा वा काजमा बसी कार्यालयमा तीन दिनभन्दा बढी समय अनुपस्थित हुने कर्मचारीहरू तथा जनप्रतिनिधिले आफ्नो जिम्मामा रहेको सवारीसाधन कार्यालयपरिसरमा व्यवस्थापन गर्नुपर्ने निर्णय गरेको अध्यक्ष कार्कीले बताए।

रिब्दिकोट गाउँपालिकाभित्रका कर्मचारी तथा जनप्रतिनिधिले आफ्नो जिम्मामा रहेको सवारीसाधनको साँचो जिन्सी शाखामा बुझाउनुपर्नेछ।

सार्वजनिक बिदाको दिनमा सरकारीसाधन सञ्चालन गर्नुपरेमा जिल्ला प्रशासन कार्यालयको सवारीसाधन सञ्चालन अनुमतिपत्र लिएर मात्र सञ्चालन गर्ने तथा सो नियम पालना नगर्ने व्यक्तिलाई सवारीसाधन सुविधा उपलब्ध नगराउने निर्णय भएको प्रशासन शाखा प्रमुख रुकलाल भट्टराईले जानकारी दिए।

सुझावित समाचार