मकवानपुरको कैलाश गाउँपालिकाले भीमफेदीमा रहेको क्षेत्रीय कारागारका कैदीबन्दीलाई दसैँ मनाउन खसी र खाद्यान्न उपलब्ध गराएको छ।
गाउँपालिकाले विजयादशमीको उपलक्ष्यमा प्रत्येक वर्षझैँ यस वर्ष पनि कारागारमा रहेका कैदीबन्दीहरूका लागि खसी र खाद्यान्न उपलब्ध गराएको हो।
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, वडा नम्बर १ का वडाध्यक्ष तेजबहादुर ब्लोन, वडा नम्बर ७ का वडाध्यक्ष उदासकुमार भोलन, लेखा अधिकृत नवीन धितालले मंगलबार कारागार पुगेर कैदीबन्दीहरूलाई दसैँ मनाउन दुईवटा खसी, ६ बोरा चिउरा र दुई कार्टुन तेल हस्तान्तरण गरे।
उक्त अवसरमा कैलाश गाउँपालिका घर भएका र कारागारमा कैदीबन्दी जीवन बिताइरहेकाहरूसँग दसैँको शुभकामना आदान–प्रदानसमेत गरिएको थियो।
गाउँपालिकाका अध्यक्ष मुक्तानले कारागारमा रहे पनि नेपालीहरूको ठुलो पर्व भएकाले दसैँमा खुसी साट्न सकियोस् भनेर शुभकामना आदान–प्रदानसँगै खसी र खाद्यान्न उपलब्ध गराएको बताए।
दुईवटा पुरुष ब्लक र एउटा महिला ब्लक रहेको कारागारमा एक हजार ४४ पुरुष, ४८ महिला कैदीबन्दी र एकजना आश्रित नाबालक रहेको कारागार प्रशासनले जानकारी दिएको छ।