राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग र राष्ट्रिय महिला आयोगका बेग्लाबेग्लै वार्षिक प्रतिवेदन प्रस्तुत भएका छन्।
निर्वाचन आयोग र राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष ०८०/८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन मंगलबार राष्ट्रपति भवनमा आयोजित बेग्लाबेग्लै कार्यक्रममा राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएको हो।
राष्ट्रपति पौडेलसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले आ–आफ्ना आयोगका प्रतिवेदन प्रस्तुत गरे।
त्यस अवसरमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको विकास एवं स्थायित्वको एउटा आधार भएको उल्लेख गरे। उनले निर्वाचनका माध्यमबाट जनताले लोकतान्त्रिक हकअधिकार प्राप्त गर्न सक्ने हुँदा यो लोकतन्त्रको सुन्दर र अपरिहार्य पक्ष भएको धारणा व्यक्त गरे।
साथै उनले महिला आयोगको प्रतिवेदन ग्रहण गरेपछि धेरै प्रयासका बाबजुद केही क्षेत्रमा महिलाको उपस्थिति आसलाग्दो देखिए पनि जनसंख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नभएको बताए।
‘जनजीवनका अन्य महत्त्वपूर्ण क्षेत्रमा महिलाको उपस्थिति र योगदानलाई अझ प्रभावकारी माध्यमबाट सुनिश्चित गर्नुपर्ने देखिएको छ। आगामी दिनमा त्यसमा आयोगले अझ सशक्त र प्रभावकारी रूपमा काम गर्ने मेरो विश्वास छ,’ राष्ट्रपति पौडेलले भने।