बाढीपहिरोका कारण थाहाको खानेपानी आयोजनामा डेढ करोडभन्दा बढी क्षति

मंगलबार, २२ असोज, २०८१
डिजिटल संस्करण

मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाको विभिन्न खानेपानी आयोजनाहरूमा गरी बाढीपहिरोले डेढ करोडभन्दा बढीको क्षति पुर्याएको छ ।  गत ११ र १२ असोजमा परेको अविरल वर्षाका कारण थाहा नगरपालिकाको कुल २६ वटा खानेपानी आयोजनाहरूमा करिब एक करोड ६३ लाख रुपैयाँबराबरको क्षति भएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाका सूचना अधिकारी सुरज भुजेलले गत हप्ताको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले खानेपानी आयोजनाका १८ वटा इन्टेकमा क्षति पुगेको जानकारी दिए । यस्तै सूचना अधिकारी भुजेलका अनुसार २४ वटा खानेपानीको रिजर्भ ट्यांकी, विभिन्न साइजका १६ हजार १७० मिटर पोलिथिन पाइप र एक हजार ३२४ मिटर जिआई पाइपमा क्षति पुगेको छ ।

नगरपालिकाका सबइन्जिनियर सीताराम ढकालले नगरपालिकाले संकलन गरेको प्रारम्भिक क्षतिको आधारमा बाढी र पहिरोका कारण इन्टेकमा भएको क्षति करिब नौ लाख रुपैयाँको रहेको बताए । यसैगरी रिजर्भ ट्यांकीमा पुगेको क्षतिका अनुमान एक करोड ३१ लाख ७५ हजार रुपैयाँबराबर रहेको छ। यस्तै, पोलिथिन पाइप २० लाख १७ हजार चार सय ५१ रुपैयाँको क्षति भएको छ भने जिआई पाइपको क्षति मूल्यांकन दुई लाख १० हजार ४६६ रुपैयाँ रहेको छ । 

नगरपालिकाका सूचना अधिकारी भुजेलले पालिकाका सबै १२ वटै वडाहरूबाट तथ्यांक संकलनपछि एकीकृत गरी मूल्यांकन गरिएको जानकारी दिए । उनले क्षति पुगेको खानेपानी आयोजनाको पुनर्निर्माण गर्न नगरपालिकाको बजेटले मात्र सम्भव नहुने देखिएपछि संघ र प्रदेश सरकारका खानेपानी मन्त्रालय तथा विभिन्न गैरसकारी संस्थाहरूलाई समेत आग्रह गरिएको बताए ।
 

सुझावित समाचार