ललितपुर र मकवानपुर जोड्ने बागमती नदीमाथिको बगुवा पुलसम्मको पहुँचमार्ग मर्मत गरेपछि कान्ति लोकपथ सञ्चालन भएको छ । आज दिउँसोबाट कान्ति लोकपथ भएर सवारीसाधन पूर्ण रूपमा सञ्चालन हुने कान्ति लोकपथकी योजना प्रमुख रत्नलक्ष्मी बज्राचार्यले जानकारी दिइन्।
अहिले पनि सामान्य रूपमा सवारी आवागमन खुला गरिएको भए पनि ललितपुरतर्फको पहुँचमार्गमा अझै पनि फिलिङ गर्न बाँकी रहेकाले काम भइरहेको प्रमुख बज्राचार्यको भनाइ छ।
‘मकवानपुरतर्फको काम सकियो। ललितपुरतर्फको पहुँचमार्गमा थोरै फिलिङ गर्ने काम बाँकी छ। अहिले काम भइरहेको छ। आज दिउँसोसम्ममा सकिन्छ,’ उनले भनिन्, ‘त्यसपछि कान्ति लोकपथ भएर सवारी आवागमन पूर्ण रूपमा खुल्छ ।’
गत ११ र १२ असोजको अविरल वर्षाले कान्ति लोकपथअन्तर्गत बागमतीमाथिको बगुवा पुलको मकवानपुरतर्फको पहुँचमार्ग बगाउँदा सवारी आवागमनमा समस्या भएको थियो । लगभग १० दिनपछि कान्ति लोकपथ आजबाट सञ्चालन भएको हो।
बागमतीमा आएको बाढीले मकवानपुरतर्फ बगाएको भाग मर्मत गरेपछि यातायात सञ्चालन गरिएको कान्ति लोकपथकी योजना प्रमुख बज्राचार्यले जानकारी दिइन् । उनले गएराति नै मर्मतको काम सकिए पनि ललितपुरतर्फको पहुँचमार्गमा अझै थोरै फिलिङको काम बाँकी रहेकाले आज दिउँसोबाट सवारीसाधनको आवतजावत खुला गर्ने बताइन्।