बाढीपहिरोबाट विस्थापितलाई बसोबासको व्यवस्था मिलाउन मुख्यमन्त्रीसँग माओवादीको कोशी संसदीय दलको माग

सोमबार, २१ असोज, २०८१
डिजिटल संस्करण

बाढीबाट विस्थापित भएका प्रदेशवासी नागरिकको तत्काल बसोबासको व्यवस्था मिलाउन माओवादी केन्द्रको कोशी संसदीय दलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग माग गरेको छ। 

संसदीय दलका नेता इन्द्र आङ्बो नेतृत्वको टोलीले सोमबार मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो। दसैँतिहारजस्ता पर्वमा नागरिक अप्ठ्यारोमा परेको भन्दै बाढीपहिरोले घरविहीन बनेका नागरिकलाई बसोबासको व्यवस्था गर्न माग गरेको हो। 

बाढीपहिरोले बेपत्ताको खोजी, उद्धार र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउनसमेत माग गरेको छ। यस्तै, राहत वितरणको झन्झटिलो प्रक्रियालाई छुट्याएर स्थानीय तहसँग समन्वय गर्दै दसैँअघि नै राहत वितरण गर्न माग गरेको हो।

प्राकृतिक विपत्तिका कारण नागरिक, किसान, साना व्यवसायी जलविद्युतलगायत विभिन्न आयोजनामा भएको क्षतिको मूल्यांकन गरी उचित क्षतिपूर्ति दिन प्रदेश सरकारसँग माग गरिएको संसदीय दलका नेता आङ्बोले बताए। 

बाढीका कारण अवरुद्ध राजमार्ग र पुल चाँडो मर्मत गरी यथाशीघ्र सञ्चालनमा ल्याउन र तत्काल सञ्चालनमा आउन नसक्ने भए वैकल्पिक सडक सञ्चालनमा ल्याउन माग गरिएको उनले जानकारी दिए।

सुझावित समाचार