व्यवस्थित आवासमा नागरिकको पहुँच सुनिश्चित गर्न सरकार अग्रसर : उपप्रधानमन्त्री सिंह

सोमबार, २१ असोज, २०८१
डिजिटल संस्करण

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवस्थित आवासमा नागरिकको पहुँच सुनिश्चित गर्ने दिशामा सरकार अग्रसर रहेको बताएका छन्।

सोमबार विश्व बसोवास दिवसको अवसरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले संविधानले प्रत्याभूत गरेको नागरिकको आवासको हक सुनिश्चित गर्नका लागि सहरी विकास मन्त्रालयले काम गरिरहेको बताए।

‘नेपालको संविधानमा आवासको हकलाई मौलिक हकको रूपमा व्यवस्था भएअनुसार सीमान्तकृत, घरवारविहीन, सामाजिक–आर्थिक रूपले पछि परेका नागरिकहरूको आवासको सुनिश्चितताको प्रत्याभूत गरिएको छ। यसका लागि सहरी विकास मन्त्रालय जनता आवास कार्यक्रम, सुरक्षित नागरिक आवास कार्यक्रम तथा बस्ती विकास कार्यक्रमहरू सञ्चालन गरी ग्रामीण क्षेत्रका नागरिकलाई समेत व्यवस्थित आवासमा पहुँच सुनिश्चित गर्ने दिशामा अग्रसर रहेको छ,’ उनले भने।

समावेशी र दिगो आर्थिक वृद्धि, सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्ने, सहर र मानव बसोवासलाई समावेशी, सुरक्षित, उत्थानशील र दिगो बनाउने लक्ष्य दिगो विकास एजेन्डा ०३० ले राखेको भन्दै मन्त्री सिंहले ती लक्ष्य हासिल गर्नका लागि संघीय, प्रादेशिक र स्थानीय सरकारहरू निरन्तर क्रियाशील रहेका बताए।

सुझावित समाचार