कञ्चनपुरको एक वडाले दसैँ मनाउन विपन्न एवं बाढीपीडित परिवारलाई खाद्यान्न वितरण गरेको छ। दोधारा–चाँदनी नगरपालिकाको ६ नम्बर वडाले दसैँ मनाउन विपन्न र बाढीपीडित परिवारलाई खाद्यान्न वितरण गरेको हो।
गत असार र भदौमा आएको बाढीबाट विस्थापित भएका वडाका स्थानीय एवं आर्थिक रूपमा विपन्न आदिवासी जनजाति दलित समुदायका परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो। सोमबार एक कार्यक्रमबिच वडाध्यक्ष ओम बस्नेतले खाद्यान्न वितरण गरे। उनका अनुसार प्रतिपरिवार १ बोरा चामल, दाल, नुन, तेल, साबुनसहितका सामग्री वितरण गरिएको छ।
‘बाढीबाट पीडित र विपन्न समुदायका नागरिकलाई सहज रूपमा दसैँ मनाउनका लागि हामीले आधारभूत खाद्यान्न सामग्री वितरण गरेका छौँ,’ उनले भने, ‘खाद्यान्नविना कुनै पनि वडावासी दसैँ मनाउनबाट वञ्चित नहोस् भन्ने हाम्रो उद्देश्य हो।’ वडाका अढाई सय परिवारलाई खाद्यान्न वितरण गरिएको बताउँदै वडाध्यक्ष बस्नेतले छुटफुटलाई पनि वितरण गरिने बताए।