कान्द्रा कटानले सिंगो सिसैया गाउँ जोखिममा

सोमबार, २१ असोज, २०८१
डिजिटल संस्करण

कान्द्रा नदीको कटानले घोडाघोडी नगरपालिका–११, को सिसैया गाउँ जोखिममा परेको छ । भदौ पहिलो साताको अविरल वर्षासँगै आएको बाढीले कटान गरेपछि नदी गाउँनजिकै पुगेको छ । कटानले विद्यालल भवन जोखिममा परेपछि एक महिनादेखि बालविकास कक्षा विस्थापित भएको छ । सामुदायिक भवन र करिब दुई दर्जन घर कटानको जोखिममा परेका स्थानीयले बताएका छन् । 

भदौ पहिलो साताजस्तै फेरि वर्षा भए अब नदी गाउँमै पस्ने स्थानीयको भनाइ छ । स्थानीय शंकर कठरियाका अनुसार खेत कटान गरेर घरनजिकै नदी पुगेयता निदाउन सकेका छैनौँ । उनको साढे १२ कट्ठा जमिनमध्ये करिब १० कट्ठा जमिन कान्द्राले कटान गरिसकेको छ । ‘अब घरसहित दुई कट्ठाजतिमात्र बचेको छ, नदी घरनजिक पुगिसक्यो,’ उनले भने, ‘त्यो पनि कहिले लग्ने हो थाहा छैन ।’

नदी कटान गरेर घरबाट करिब २५–३० मिटरनजिक आइपुगेको कठरियाले बताए । नदीले कटान गरेपछि बालविकासको भवन नदीको डिलमा पुगेको छ । बालविकासमा आउने १८ जना बालबालिकालाई समायोजन भएर खाली रहेको दशरथ आधारभूत विद्यालयको भवनमा सारिएको छ । सामुदायिक भवन र स्थानीयपशुपति मन्दिर पनि कटानको जोखिममा छ । कटान गरेर कान्द्रा नदी पहलमानपुर–लालबोझी जोड्ने सडकनजिक पुगेको छ । कालोपत्रे हुने क्रममा रहेको सडकबाट नदी ७–८ मिटरको दूरीमा मात्र रहेकाले तटबन्धविना सडक कालोपत्रे गर्नुको अर्थ नहुने स्थानीयको भनाइ छ ।

समयमै तटबन्ध नबनाउने हो भने सिंगो गाउँ बगर बन्ने जोखिम रहेको अर्का स्थानीय टिआर कठरियाले बताए । ‘नदी बाटोनजिकै पुगेकाले गत महिनाको जस्तै बाढी पुनः आए बाटो बगाएर लैजान्छ, कालोपत्रे गर्नुको अर्थ छैन,’ उनले भने, ‘बाटोसँगै जोडिएको गाउँ पूरै जोखिममा छ ।’ पूर्वमा कान्द्रा नदी, पश्चिममा केही घर, बाटो र बाटोसँगै बस्ती जोडिएको छ ।

गाउँका करिब दुई सय धुरीमध्ये बाटोनजिकका घर नदी कटानको बढी जोखिममा रहेका गाउँका भल्मन्सा गयाप्रसाद कठरियाले बताए । तटबन्ध निर्माणका लागि जनप्रतिनिधि र विभिन्न निकायमा गएर हारगुहार गर्दा पनि आफूहरूको समस्या कसैले नबुझेको उनले गुनासो गरे । ‘मन्त्री, मुख्यमन्त्रीसम्मलाई भेट्यौँ, तर तटबन्धन कसैले बनाइदिएन,’ कठरियाले भने, ‘बाढीले कति वेला पो घर बगाउँछ भन्ने त्रासमा छौँ ।’

उनले केही वर्षयता आफ्नो १० कट्ठा जमिन कटानले बगर बनेको बताए ।बाढी आए तत्काल केही घर लग्ने जोखिम रहेको कठरियाले बताए । ‘कटान गरेर नदी घरछेउमै पुगेको छ, बाढी आए घर बग्ला भन्ने डर छ’ उनले भने, ‘तटबन्धका लागि धेरै ठाउँ हारगुहार ग¥यौँ, प्रदेशका मन्त्रीले निरीक्षण गरे, मुख्यमन्त्रीलाईसमेत भेट्यौँ, तर तटबन्धका लागि यस वर्ष पनि बजेट आएन ।’ करिब पाँच मिटरको दूरीनजिक नदी आएकाले सामुदायिक भवन पनि बग्ने उच्च जोखिममा रहेको स्थानीले बताएका छन् ।

स्थानीयका अनुसार कान्द्रा नदीले केही वर्षयता खेतीयोग्य जमिनको ठुलो हिस्सा कटान गरेको छ । ‘खेतीयोग्य जमिन धेरै कटान भइसकेको छ । राम्रो तटबन्ध भएन भने ढिलोचाँडो नदीले गाउँनै बगाएर लग्छ,’ भल्मन्सा कठरियाले भने, ‘हाम्रो मर्का सरकारले बुझिदिए हुन्थ्यो ।’चुरेको फेदी भएर आउने कान्द्रा बर्खामा उर्लिन्छ । कैलालीमा कान्द्रा, मोहना, खुटिया, काँडालगायत चुरेको फेदी भएर बग्ने नदी खोलाहरूले बर्खायाममा तीव्र कटान गर्छन् । कटानले कैलालीमा खेतीयोग्य जमिनको क्षेत्र घट्दै गएको छ भने कटानका कारण बर्सेनि कतिपय परिवारको उठिवास हुने गरेको छ । नदी कटानबाट हुने क्षतिको यकिन विवरण भने कुनै निकायसँग छैन ।

सुझावित समाचार