खाद्य कम्पनीका खसी–बोका बिक्री सुरु

सोमबार, २१ असोज, २०८१
डिजिटल संस्करण

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैैँका लागि काठमाडौं ल्याइएका च्यांग्रा र खसी–बोका बिक्री थालेको छ । मुस्ताङबाट तीन सय च्यांग्रा र दाङ तथा मकवानपुरबाट दुई सयभन्दा बढी खसी–बोका ल्याएर आइतबारबाट बिक्री थालेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । 

उनका अनुसार जिउँदो खसी–बोका प्रतिकिलो ६ सय ७० रुपैयाँ र च्यांग्रा प्रतिकिलो १२ सय ३० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यो मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुटसमेत राखिएको छ ।खाद्य कम्पनीले यो वर्ष तीन सय च्यांग्रा र १५ सय खसी–बोका ल्याएर बिक्री गर्ने योजना बनाएको छ । कम्पनीको थापाथलीस्थित बिक्री केन्द्र पुगेर उपभोक्ताले खरिद गर्न सक्ने न्यौपानेले जानकारी दिइन् ।

विगतमा घटस्थापनादेखि खसी–बोका बिक्री गर्ने गरिएको थियो । यसपटक भने बाढीपहिरोले राजमार्ग अवरुद्ध हुँदा खसी–बोका ल्याउन ढिलाइ भएकाले आइतबारदेखि बिक्री थालिएको कम्पनीले जनाएको छ ।निजी क्षेत्रले भने घटस्थापनाको अघिल्लो दिनदेखि नै बिक्री जारी राखेका छन् ।

दैनिक २५ ट्रकसम्म खसी–बोका ल्याएर बिक्री गरिरहेको काठमाडौं चौपाया खरिद–बिक्री वधशालाका अध्यक्ष जनक खड्काले जानकारी दिए । उनका अनुसार कलंंकी बजारमा जिउँदो खसी–बोकाको मूल्य तौलअनुसार ६ सय ५० देखि सात सय रुपैयाँ प्रतिकिलोसम्म निर्धारण गरिएको छ । मागअनुसार आपूर्ति गर्न कुनै समस्या नरहेको उनले जानकारी दिए ।

सुझावित समाचार