नेपोलियन बोनापार्ट फ्रान्सका सम्राट् भइसकेपछि पनि कहिलेकाहीँ जनताको अवस्था बुझ्न र आफ्नाबारे विरोधीहरूको टिप्पणी सुन्न भेष बदलेर नचिनिने भएर साधारण भेषमा हिँड्ने गर्थे । अहिलेजस्तो पत्रपत्रिका, टेलिभिजन, इन्टरनेटको सुविधा नभएकाले उनलाई धेरैजसो जनताले प्रत्यक्ष देख्दा पनि चिन्दैनथे । तिनै नेपोलियन एक दिन सामान्य अवस्थामै कतै जाँदै थिए । बाटामा केही श्रमिकहरूले एउटा निकै ठुलो ढुंगो पल्टाउन बल गरिरहेको देखेर उनी टक्क रोकिए । श्रमिकहरू सकिनसकी पसिना चुहाउँदै भएभरको बल लगाएर ढुंगो पल्टाउन खोजिरहेका थिए । त्यहीँ नजिकै एकजना मोटोघाटो मानिसचाहिँ छाता ओढेर ती श्रमिकलाई छिटो ढुंगा पल्टाउन नसकेकोमा हकार्दै थिए ।
नेपोलियनले तिनैसित सोधे, बिचरा श्रमिकहरू असिनपसिन हुँदै बल गरिरहेका छन् । तर, तपाईंचाहिँ यहाँ बसेर उनीहरूलाई हकारिरहनुभएको छ । यसरी गाली गर्नुभन्दा त यसो उनीहरूलाई मद्दत गर्नुभए ढुंगो पल्टाउन बल पुग्ने थियो नि । नेपोलियनको भनाइ सुनेपछि ती मानिसले जंगिँदै भने, ‘तिमीलाई थाहा छ म को हुँ ?’ नेपोलियनले नम्र भावले भने, ‘अहँ मलाई थाहा छैन । साँच्चै, तपाईं को हुनुहुन्छ ?’ ती मानिसले फुर्तीसाथ भने, म यो आयोजनाको ठेकेदार हुँ । अनि के म ती मजदुरसँगै गएर ढुंगा पल्टाइबस्नु ?’ उनको कुरा सुनेपछि मन्द मुस्काउँदै नेपोलियनले ए... भने र उनी ढुंगा पल्टाइरहेका मजदुरलाई सघाउन पुगे ।
उनले बल लगाएर ढुंगा पल्टाउन सघाए । एकैछिनमा ढुंगो पल्टियो । यो सब हेरिरहेका ती ठेकेदारले नेपोलियनलाई बोलाएर सोधे, ‘अनि तिमीचाहिँ को हौ नि ?’ नेपोलियनले हँसिलो अनुहार बनाएर जवाफ दिए, ‘चिन्नेहरूले मलाई नेपोलियन बोनापार्ट भन्छन् ।’ यति जवाफ दिएर उनी फटाफट आफ्नो बाटो लागे । उनको जवाफ सुनेर ती ठेकेदारको अनुहार पहेँलो भयो । उनी मूर्तिवत् भई नेपोलियन गएको हेरिरहे ।