डेंगु संक्रमण बढेसँगै दार्चुलाको महाकाली नगरपालिकाले लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ। नगरपालिकाले नगरभित्रका आठवटा ठाउँलाई केन्द्र बनाएर ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको हो।
शुक्रबारदेखि आइतबारसम्म अभियान थालिएको नगरपालिका स्वास्थ्य संयोजक जयबहादुर फर्सवानले बताए। सडक छेउछाउ पर्ने महाकाली नगरपालिकाको लास्कु, श्रीबगड, मल्लो बंगाबगड, मोहती, ऐरान, धौलीगाड, सकार, धाप र दत्तु क्षेत्रमा डेंगु खोज र नष्ट अभियान चलाइएको छ। असोज १८ देखि २० गतेसम्म अभियान सञ्चालन हुनेछ।
लामखुट्टेले अन्डा पार्न सक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान चलाइएको उनले बताए। विभिन्न ठाउँमा डेंगुको संक्रमण बढ्दै गएकाले सतर्कताका लागि नगरपालिकाले यो अभियान सुरु गरेको स्वास्थ्य शाखा प्रमुख फर्सवानको भनाइ छ। यस अभियान कार्यान्वयनका लागि स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षकलगायतको टोली परिचालन गरिएको छ।
डेंगुको जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने काम भइरहेको छ। ‘घरमा भएका गमला, ड्रम, तथा सफा पानीमा डेंगुका लार्भा छन्। घरभित्र नै लामखुट्टे उत्पादन गर्ने कारखाना भइसकेको छ,’ उनले भने, ‘सामान्य जानकारी नहुँदा डेंगु फैलिने भएको हुँदा अभियानमार्फत सचेतना दिने काम भइरहेको छ।'
डेंगु भाइरसद्वारा संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ। यो लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ। विशेष गरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ। सहरी क्षेत्रमा यस्ता वस्तुहरू थुप्रै हुने भएकाले पनि सहरमा बढी लामखुट्टे देखिने गर्छन्।
एडिज नामक लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्दछ। उक्त लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ। विशेष गरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ।
डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ। पोथी जातको लामखुट्टेले अन्डा पार्ने वेलामा टोक्ने गर्छ। एक व्यक्तिको रगतले नअघाउँदा पुनः अर्को व्यक्तिलाई टोक्ने गर्छ, जसका कारण धेरै मानिसमा डेंगुको संक्रमण हुन जान्छ। दिउँसै टोक्ने लामुखट्टेले डेंगी सार्ने भएकाले घरसँगै विद्यालय, कार्यालय र सार्वजनिक स्थलमा पनि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने चिकित्सकहरू बताउँछन्।