काभ्रेका बाढी प्रभावित तीन स्थानीय तहलाई काठमाडौं महानगरले २०–२० लाख रुपैयाँ सहयोग गर्ने

शुक्रबार, १८ असोज, २०८१
डिजिटल संस्करण

काभ्रेपलाञ्चोकका बाढी प्रभावित तीन स्थानीय तहलाई बाढीपहिरोबाट पुगेको क्षति पुनर्स्थापना तथा संकट व्यवस्थापनमा राहतका लागि काठमाडौं महानगरपालिकाले २०–२० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ। 

महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)को अध्यक्षतामा शुक्रबार बसेको विपत् व्यवस्थापन समितिको बैठकले पालिकाहरूको कोषमा सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो। यसरी सहयोग प्रदान गरिने पालिकाहरूमा पनौती नगरपालिका, रोशी गाउँपालिका र बेथानचोक गाउँपालिका छन्। 

पालिकाहरूबाट सहयोगको माग भएपछि विपत् व्यवस्थापन समितिमा छलफल गरेर सहयोगको सिफारिस गरेर महानगर विपत् व्यवस्थापन समितिमा पठाइएको समितिका संयोजक प्रेम थापाले जानकारी दिए।

सहयोग उपलब्ध गराइएका पालिका क्षेत्रमा १० देखि १३ असोजसम्म परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी र पहिरोले ठुलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ।

सार्वजनिक सेवा प्रदान गरिने कार्यालयहरूबाट सेवा प्रवाह गर्न कठिन हुने अवस्था सिर्जना भएको छ। सडक, खानेपानीका ट्यांकी तथा पाइपलाइन, सञ्चार र विद्युत् सञ्जाल विच्छेद भएको छ। खेतीबाली बगाएको र पुरिएको छ। लत्ताकपडा, खानेकुराको अभाव तथा स्वास्थ्यजन्य समस्या सिर्जना भएको छ । 

मानवीय संकटका वेला राहत र पुनर्स्थापना गर्न महानगरपालिकाले सहयोग गरेको हो। बाढीपहिरोको विपत्तिमा परेर पनौती नगरपालिकाभित्र २० जनाको मृत्यु भएको छ। पाँच सय घर पूर्ण र ७१३ घर आंशिक रूपमा क्षति भएका छन्। 

दुई हजारभन्दा धेरै पशु चौपायाको क्षति भएको छ। रोशी गाउँपालिका क्षेत्रभित्र १२ जनाको ज्यान गएको छ। आवासीय करिब पाँच सय घरमा पूर्ण क्षति भएको छ। करिब एक हजार पाँच सय घरमा आंशिक क्षति भएको छ। करिब दुई हजार पशु चौपायाको क्षति भएको छ।

बेथानचोक गाउँपालिकाभित्र १२ जनाको ज्यान गएको छ। पूर्ण र आंशिक गरेर ९७० घरमा क्षति पुगेको छ। करिब नौ हजार पाँच सय पशु चौपायाको क्षति भएको छ भने गाउँपालिकाको प्रशासनिक भवनमा समेत क्षति पुगेको छ।

सुझावित समाचार