पसाहा खोलाकाे निर्माणाधीन पक्की पुल बाढीले बगायो

शुक्रबार, १८ असोज, २०८१
डिजिटल संस्करण

बाराको कलैया उपमहानगरपालिका– १५ स्थित खमवा–मधुवन खण्डमा निर्माणाधीन पसाहा पुल बाढीले बगाएको छ। दसैँअघि ढलान गरिसक्ने लक्ष्यसहित सम्पूर्ण काम सकेर ढलानको अन्तिम तयारी भइरहेका वेला असोज १२ गते पसाहा नदीमा आएको बाढीले पुल बगाएको स्थानीय राधेश्याम सहनीले जानकारी दिए । 

सडक विभागको लागतमा निर्माणाधीन उक्त पुल मेरिना कन्स्ट्रक्सन नेसनल इन्स्ट्रक्टर जेभीले ठेक्का लिएर काम गरिरहेका थिए । पुल निर्माण गरिरहेको मेरिनार नेसनल जेभीका बालगोपाल कँडेलका अनुसार ढलान गर्न ठिक्क पारेको पुल बगाउँदा एक करोडभन्दा बढीको क्षति भएको छ । 

कलैया उपमहानगरपालिका र जिल्लाको करैयामाई गाउँपालिका जोड्ने उक्त पुल भत्किँदा स्थानीयवासी दुःखी बनेका छन्। कलैया उपमहानगरपालिका– १५ का वडाध्यक्ष भोरिक यादवले निर्माणाधीन पुल भत्किँदा ठेकेदार कम्पनीले नोक्सानी व्यहोर्नुको साथै दसैँअघि नै पुलबाट आवतजावत गर्न पाउने आस बोकेर खुसी बनेका स्थानीयवासी निराश बनेकाे बताए । निर्माणको अन्तिम अवस्थामा बाढीले बगाएपछि पुलको निर्माण कार्य सम्पन्न हुने समय अनिश्चित बनेको छ ।
 

सुझावित समाचार