गत शनिबार मकवानपुरको इन्द्रसरोवरस्थित टेकरमा खसेको पहिरोमा परी ज्यान गुमाएका मकवानपुरका दुईजना खेलाडीको परिवारलाई राहत वितरण गरिएको छ। नेपाल सरकारका तर्फबाट मकवानपुरका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् व्यवस्थापन समिति मकवानपुरका संयोजक तीर्थराज चिलुवालले मृतकको घरमै पुगेर राहत उपलब्ध गराएका छन् ।
प्रजिअ चिलुवालले हेटौँडा उपमहानगरपालिका– १२ का अनुपम घलान र मकवानपुरगढी गाउँपालिका– ४ का साइमन योञ्जनका परिवारलाई राहत रकम हस्तान्तरण गरेका हुन् । उनले मृतक अनुपमका बाबु ललित घलान र साइमनका बुबा हेमबहादुर योञ्जनलाई दुई–दुई लाख रुपैयाँको चेक प्रदान गरेका छन् ।
यस्तै, उक्त पहिरोमा परी ज्यान गुमाएका सिस्नेरीका दिवस बानियाँको परिवारलाई आजै शुक्रबार सिस्नेरीस्थित घरमा पुगेर राहत रकम हस्तान्तरण गर्ने प्रजिअ चिलुवालले जानकारी दिए। गत ११ र १२ असोजमा परेको अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३ टेकरमा आएको पहिरोमा परी मकवानपुरका तीनसहित ६ जना खेलाडीको मृत्यु भएको थियो ।
मृत्यु हुने अन्य खेलाडीमा बारा निजगढका विकल रेग्मी, सर्लाहीका आदित्य बलम्पाखी र काठमाडौंका प्रियान्स आचार्य रहेका छन् । उनीहरू एन्फा एकेडेमीले मकवानपुरको इन्द्रसरोवर– ३ मा रहेको वत्सला माविमा सञ्चालन गरेको एकेडेमीमा अध्ययनसँगै फुटबल प्रशिक्षणमा रहेका थिए ।