पाँच सय १० आरोहीलाई आरोहण अनुमति

शुक्रबार, १८ असोज, २०८१
डिजिटल संस्करण

शरद्कालीन सिजनमा हिमाल आरोहण गर्न हालसम्म ६१ टिमबाट पाँच सय १० आरोहीले अनुमति लिएका छन्, जसमध्ये एक सय १३ महिला रहेका छन् । हिमाल आरोहीहरूबाट चार करोड ९७ हजार रोयल्टी संकलन भएको पर्यटन विभागले जनाएको छ । अहिलेसम्म २४ हिमाल आरोहणका लागि ५८ देशका नागरिकले अनुमति पाएका छन् ।  

विभागका अुनसार अनुमति लिने अधिकांश मनास्लु (८,१६३ मि.) हिमाल आरोही रहेका छन् । मनास्लु आरोहणका लागि २८ टिमबाट ८२ महिलासहित तीन सय आठजनाले अनुमति लिएको विभागको तथ्यांक छ । शरद् सिजनमा सर्वोच्च शिखर सगरमाथा चढ्ने हुँदैनन् । सगरमाथा आरोहणको मुख्य सिजन वसन्त ऋतु हो ।

कुन हिमाल चढ्न कति आरोही ?
विभागका अनुसार पुथा हिउँचुली आरोहण गर्न २८, धौलागिरि प्रथमका लागि १४, कुम्भकर्णका लागि १०, आमादब्लमका लागि १८, थोरोङ पिकका लागि २४, हिमलुङ हिमालका लागि ३०, वरुण त्सेका लागि १२ जनाले आरोहण अनुमति लिएका छन् । 

यस्तै, अन्नपूर्ण चौथो आरोहण गर्न पाँच, थाकरक गो इस्टका लागि चार, पुंगीका लागि पाँच, अरनिको चुलीका लागि तीन, अपिका लािग ६, मकालुका लागि दुई, चोयुका लािग चार, नीलगिरि नर्थका लागि दुई, थापा पिक (धम्पुस)का लागि आठ, चण्डी हिमालका लागि चार, टक्ला खाङका लागि तीन, सेन्चुरी पिकका लागि पाँच, टुकुचे पिकका लागि चार, लाङटाङ लिरुङका लागि तीन, पान्द्राका लागि तीन र सरिबुङ हिमाल आरोहण गर्न पाँचजनाले अनुमति लिएको विभागले जनाएको छ । 

सबैभन्दा धेरै चिनियाँ आरोही
शरद्कालीन सिजनमा चीनबाट २० महिलासहित ६६ आरोहीले आरोहण अनुमति लिएका हुन् । विभागका अनुसार अहिलेसम्म अमेरिकन ४७, युकेबाट २३, अस्ट्रेलियाबाट २०, चेक रिपब्लिकबाट ३९, फ्रान्सबाट २५, जर्मनीबाट २०, हङकङबाट १३, जापानबाट ३५, काजकिस्तानबाट १०, नेपालबाट २४, नेदरल्यान्डबाट १०, रसियाबाट ४१, स्पेनबाट १५, स्विट्जरल्यान्डबाट १३ आरोहीले अनुमति लिएका छन् ।
 

See More On

सुझावित समाचार