माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनअन्तर्गत बन्दसत्रको कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । प्रतिनिधि छनोट र दुई चरणको निर्वाचनका लागि समय लाग्ने भएकाले बन्दसत्र स्थगित गरिएको अखिल क्रान्तिकारीले जनाएको छ ।
मुख्यगरी उमेरहद राख्ने कि नराख्ने भन्ने विषयसहित विधान पारित गर्न पहिलो चरणमा र नेतृत्व चयनका लागि दोस्रो चरणमा निर्वाचन गर्ने तयारी थियो । तर, प्रतिनिधि छनोटमै समय लागेपछि अध्यक्षमण्डलले बन्दसत्र जारी रहेकै अवस्थामा तत्कालका लागि स्थगित गरेको हो । प्रतिनिधि टुंग्याएर सम्मेलन सम्पन्न गर्न कम्तीमा पाँच दिन लाग्ने भएपछि चाडपर्वपछि बाँकी कार्यक्रम अघि बढाउने गरी तत्कालका लागि स्थगित गरिएको अध्यक्षमण्डलले जनाएको छ ।
वीरबहादुर थापाको अध्यक्षतामा अर्जुन पौडेल, चन्द माङमुङ, पुस्कर शर्मा, मनसिंह शाही, त्रिदीप गुरुङ र सीमा शाही सदस्य रहेको अध्यक्षमण्डल गठन गरिएको थियो । बन्दसत्रमा छलफलका लागि प्रस्तुत प्रस्तावित विधान र प्रतिवेदनउपर निर्णय भइसकेको छैन । विधान पारित गरी सोहीअनुसार निर्वाचन गर्ने तयारी थियो । ‘पार्टीको निर्वाचन आयोगसँग परामर्श गरी निर्वाचनको सबै प्रक्रिया पूरा गर्न दसँैअगाडिको समय पर्याप्त नभएको सुझावलाई मध्यनजर गरी राष्ट्रिय सम्मेलन हाललाई स्थगित गरिएको छ,’ निर्वाचन आयोगले निकालेको सूचनामा उल्लेख छ । स्थगित सम्मेलन चाडपर्व सम्पन्न भएपछि गर्ने बताइएको छ । तर, अर्को मिति भने तोकिएको छैन ।
कीर्तिपुरमा १० असोजमा सम्मेलनको उद्घाटन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । १४ असोजमा सम्मेलन सक्ने कार्यक्रम थियो । अखिल क्रान्तिकारीको सम्मेलन स्थगित भएपछि प्रचण्डले अध्यक्षमण्डलसँग बिहीबार छलफल गरेका छन् । प्रचण्डसँग अध्यक्षमण्डलले सम्मेलन सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
‘दसैँको मुखमा सहभागी विद्यार्थी र अभिभावकको बेचैनी तथा व्यवस्थापकीय पक्षमा देखिएको जटिलतासमेतलाई ध्यानमा राखी निर्वाचन आयोगका तर्फबाट अध्यक्षमण्डललाई दिएको परामर्शलाई ध्यान दिँदै अध्यक्षमण्डलले अर्को सूचनामार्फत आह्वान गर्ने गरी तत्काललाई सम्मेलनको बन्दसत्र स्थगन गरेको हो,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने ।
चुनाव गर्ने भनिए पनि आवश्यक तयारी नभएको देखिएको छ । ‘तयारी नपुगेका कारण सम्मेलन स्थगित गर्नुपरेको हो । प्रतिनिधि छनोटका साथै विधानका लागि र नेतृत्व चयनका लागि गरी दुई चरणको निर्वाचन गर्दा फूलपातीसम्म लाग्ने देखियो । दसैँ नजिकिएको र बाढीपहिरोले बाटोको अवस्थासमेत राम्रो नभएकाले विद्यार्थी साथीहरू घर फर्किन थाले । सम्मेलन अल्पमतको हुने स्थिति भएपछि स्थगित भएको हो,’ उनले भने ।