इजरायलले आफ्नो मुलुकमाथि भएको इरानी क्षेप्यास्त्र आक्रमणको निन्दा गर्न असफल भएको आरोप लगाउँदै बुधबार संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई ‘अवाञ्छित व्यक्ति’ घोषणा गरेको छ ।
‘इजरायलमाथि इरानको जघन्य आक्रमणको स्पष्ट रूपमा निन्दा गर्न नसक्ने व्यक्ति इजरायली भूमिमा पाइला टेक्न योग्य छैन,’ इजरायली विदेशमन्त्री इजरायल काट्जले एक वक्तव्यमा भने, ‘उनी आतंकवादी, बलात्कारी र हत्यारालाई समर्थन गर्ने इजरायलविरोधी महासचिव हुन् ।’
गुटेरेस हमास, हिजबुल्लाह, हुथी र विश्वव्यापी आतंकवादको मातृशक्ति इरानका हत्याराको समर्थक भएको काट्जले आरोप लगाए । साथै भावी पुस्ताले गुटेर्रेसलाई संयुक्त राष्ट्र संघको इतिहासका एउटा धब्बाका रूपमा सम्झिने पनि उनले बताए । मंगलबार राति इरानले इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेपछि गुटेर्रेसले ‘मध्यपूर्वमा बढ्दो द्वन्द्व’को निन्दा गर्दै यस क्षेत्रमा ‘एकपछि अर्को द्वन्द्व’ जोखिम बढेको चेतावनी दिएका थिए । ‘द्वन्द्वको वृद्धिलाई रोक्नैपर्छ र पूर्ण युद्धविराम अहिलेको आवश्यकता हो,’ गुटेरेसले बताए ।
गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले गाजामा क्रूर अभियान चलाएसँगै इजरायल र संयुक्त राष्ट्रसंघबिचको सम्बन्ध बिग्रिएको छ ।