नेपाल आउने भारतीय पर्यटक २२ प्रतिशत घटे

बिहिबार, १७ असोज, २०८१
डिजिटल संस्करण

अविरल वर्षा, बाढीपहिरो र दुर्घटनाको त्रासले नेपाल भ्रमणमा आउने भारतीय पर्यटक घटेका छन् । यस वर्षको सेप्टेम्बरमा भारतबाट २२ हजार ९८४ पर्यटक नेपाल घुम्न आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । सेप्टेम्बरमा सन् २०२४ कै सबैभन्दा कम भारतीय पर्यटक नेपाल घुम्न आएका छन् । अघिल्लो वर्षको सेप्टेम्बरको तुलनामा यो वर्ष २२ प्रतिशतले भारतीय पर्यटक कम आएको पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले बताए । सेप्टेम्बर २०२३ मा २८ हजार ६९४ भारतीय पर्यटक आएका थिए ।

साउन र भदौमा नेपालमा थुप्रै सडक दुर्घटना तथा दुईवटा हवाई दुर्घटना भए । यसले भारतीय पर्यटक आगमनमा असर परेको पर्यटन बोर्डका निर्देशक लामिछानेको भनाई छ । सडक दुर्घटनाले भारतीय र हवाई दुर्घटनाले युरोप तथा अमेरिकी पश्चिमा पर्यटक आगमन प्रभावित भएको देखिन्छ । भारतीय पर्यटक घट्दा अमेरिकन पर्यटक आगमन भने बढेको देखिन्छ । सेप्टेम्बरमा अमेरिकाबाट १० हजार ८४ पर्यटक आएका छन् । 

सेप्टेम्बरमा भित्रिए ९६ हजार पर्यटक
सेप्टेम्बरमा विभिन्न देशबाट ९६ हजार ३०५ पर्यटक भित्रिएका छन् । यो संख्या सेप्टेम्बर २०२३ को तुलनामा ५.८२ प्रतिशत र कोभिड महामारी सुरु हुनुअघि सेप्टेम्बर २०१९ को तुलनामा ४ प्रतिशतले धेरै रहेको पर्यटन बोर्डले जनाएको छ । सेप्टेम्बर २०२३ मा ९१ हजार १२ र सेप्टेम्बर २०१९ मा ९२ हजार ६०४ पर्यटक नेपाल आएको तथ्यांक छ । 

See More On

सुझावित समाचार