बालोन डि’अरमा ध्यान नदिएका रोनाल्डो

बिहिबार, १७ असोज, २०८१
डिजिटल संस्करण

पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लियोनल मेसी लगभग दुई दशकपछि बालोन डिअर वर्ष खेलाडीको मनोनयनमै परेनन् । बालोन डिअरका सर्वाधिक विजेता खेलाडीद्वयविना पहिलोपटक यो अवार्ड हुँदै छ । धेरैले रोनाल्डो र मेसी मनोनयनमा नपर्दा आश्र्यच जनाए । तर, रोनाल्डोले वर्षको उत्कृष्ट खेलाडीको दौडमा आफू कहिले ध्यानाकर्षण नभएको स्पष्ट पारेका छन् । ‘बालोन डिअरमा म हुनु र नहुनुमा केही पनि फरक छैन,’ उनले भने, ‘फुटबलमा अवार्ड नै ठूलो होइन ।’

सन् २०२३ मा इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर यु्नाइटेड छाडेर साउदी अरेबियाको प्रो लिग क्लब अल नासेरमा आवद्ध भएका रोनाल्डोले सधैँ आबद्ध क्लबलाई सफलता दिलाउनु महŒवपूर्ण पक्ष भएको बताएका छन् । एएफसी च्याम्पियन्स लिगको समूह चरणमा सोमबार अल नासेरले कतारका अल रायनमाथि २–१ ले हराएको थियो । यस खेलमा रोनाल्डो प्रेरणादायी खेल प्रस्तुत गरेका थिए । खेलपछि स्थानीय पत्रकारहरूले बालोन डिअर प्रशंसा उठाउँदा उनले बालोन डिअरलगायत अन्य अवार्डप्रति पछिल्लो समय चासो नराखेको बताए । 

‘अहिले कुन क्लबबाट खेलिरहेको छु, त्यसको अर्थ राख्छ, उत्कृष्ट हुने वा नहुनेले केही फरक पर्दैन,’ रोनाल्डोले भने, ‘मेरो ध्यान नै जहाँजहाँबाट खेल्छु त्यहाँबाट उत्कृष्ट खेल्ने प्रयास हुनेछ ।’ एक फुटबल खेलाडीका रूपमा विपक्षी पोस्टमा गोल गरेको क्षणमा सधैँ खुसी लाग्ने उनले बताए । ‘एक खेलाडीले गोल गरेको समयमा धेरै खुसी हुन्छन्, फेरि यसमा मेरो तर्क फरक छ, गोलभन्दा पनि जित मुख्य पक्ष हो,’ उनले भने, ‘जितले नै क्लब अगाडि बढ्छ ।’

अल नासेरमा रेकर्ड बनाउनका लागि नभएर साउदी अरेबियामा फुटबल कल्चर विकास गर्न आएको रोनाल्डोले बताए । ‘फुटबल खेल्दै गइरहँदा रेकर्ड बन्ने गर्छन्, यहाँ अहिले मेरो नामका केही रेकर्ड स्थापित भएका छन्, तर अल नासेरलाई सधैँ जित दिलाउने पहिलो लक्ष्य हो,’ उनले भने, ‘विशेष गरी म साउदीमा फुटबल विकासका लागि आएको हुँ ।’ उनले करिअरमा पाँचपटक बालोन डिअर उपाधि जितेका छन् । करिअरमा उनले नौ सय चार गोल गरेका छन् । उनले कतारी क्लब बलियो भएको बताएका छन् । 

तीन वर्ष सक्रिय रहने
गत महिनामा रोनाल्डोले आफ्नो फुटबल करिअर अल नासेरमै समाप्त हुने घोषणा गरेका थिए । ‘मलाई थाहा छैन कुन वेला सन्न्यासको समय हुनेछ त र सन्न्यास लिनु नै परेको खण्डमा अल नासेल नै हुनेछ,’ पुनः एकपटक उनले अल नासेरबाट फुटबल वुट बिसाउने बोलेका छन् । सन् २०२३ मा उनले अल नासेरलाई अरब क्लब च्याम्पियन उपाधि दिलाएका थिए । गत मेमा उनी साउदी प्रो लिगमा एकै सिजनमा सर्वाधिक ३५ गोल गर्ने रेकर्ड राखेका थिए । गत महिना नेसन्स लिगमा स्कटल्यान्डलाई पोर्चुगलले २–१ ले हराउँद रोनाल्डोले गोल गरेका थिए । यसै गोलको सहयोगमा उनले फुटबल इतिहासमै नौ सय एक गोल पूरा गरेका थिए । 

सुझावित समाचार