सुनकोशी बाढीसँगै बगे सपना

बुधबार, १६ असोज, २०८१
डिजिटल संस्करण
सुनकोशी बाढीसँगै बगे सपना

बाढीपीडितहरू

सिन्धुलीमा चार दिनअघिसम्म लीला माझी साहुनी थिइन् । जस्ताले छाएको घरको तल्लो तलमा फलफूल र किरानाको पसल, माथिल्लो तलामा परिवारसहित बस्थिन् । रामेछाप जिल्लासँगै मध्यपहाडी र बिपी राजमार्ग भएर आउने गाडीका कारण खुर्काेट बजारमा चहलपहल हुन्थ्यो, व्यापार पनि राम्रै भइरहेको थियो ।

तर, १२ असोजमा सुनकोशी नदी उर्लिएर आएपछि सिन्धुली खुर्कोट बजारमा रहेको उनको घर बगरमा परिणत भएको छ । चार छोराछोरीसहित उनी अहिले आफन्तको घरमा बसिरहेकी छिन् । ‘पहिले पनि बाढी त आउँथ्यो । अहिले पनि सटर लगाएर छोड्यौँ । तर, घरबाट निस्केलगत्तै सटर त ड्यामड्याम पड्किन थाल्यो । त्यसपछि त पसलका सामान सुनकोशीमा बग्न थाले,’ उनले भनिन्, ‘म र छोराछोरीको सपना पनि बग्यो ।’ सुनकोशीले उनको घर लगेको छ । 

यसअघि उनी गोलन्जोर गाउँपालिका– ६ हैवारमा भएको सबै सम्पत्ति बिक्री गरेर छोराछोरी लिएर व्यापार गर्दै आएकी थिइन् । पसलबाट दिनको तीन हजारसम्म व्यापार हुन्थ्यो । त्यहीँ पैसाले छोराछोरी पढाइरहेकी थिइन् । ‘बाढीले सुकुम्बासी बनाइदियो । घरको नामनिसान छैन,’ उनले भनिन्, ‘अब छोराछोरीलाई कसरी पढाउँ ?’ नयाँ मान्छे भेट्न आएमा उनले खाद्यान्न र लुगाको आशा गर्न थालेकी छिन् । १० लाखको क्षति भएको उनको भनाइ छ । शनिबारको बाढीले लीला मात्र होइन यहाँका ५० परिवारको घर भत्किएका छन् । बाढीले खुर्काेटका गोविन्दकृष्ण श्रेष्ठको घर पनि भत्काइदिएको छ । खेती–किसानी गर्दै आएका उनको ६ जना परिवार अहिले माथिल्लो खुर्काेटमा रहेको पुरानो घरमा पुगेको छ । ‘गोठ पनि बगेको छ,’ उनले भने ।

खुर्काेटकै बालकृष्ण श्रेष्ठको परिवार पनि बिचल्लीमा परेको छ । खुर्काेटमा पशुचौपाया पालेर जीविका चलाउँदै आएका थिए, तर बाढीले घरगोठ लगिदिएको छ । बाढीले भौतिक संरचनाभन्दा बाहेक साढे सात लाखको धनमाल बगाएको उनले बताए ।

पहिरोले रोशी खोला थुनिएको र तामाकोशी जलविद्युत्को ड्याम पनि फुटेपछि खुर्काेटमा बाढी आएको उनको भनाइ छ । सुनकोशीको पुल पनि भत्किएको छ । उनका अनुसार ०४१ मा पनि ठूलो बाढी आएको थियो । तर, यसपालिजति क्षति भएको थिएन । ‘राति बाढी आएको भए ठूलो मानवीय क्षति हुने रहछ, धन्न दिउँसो भएर जोगियौँ,’ उनले भने ।

माथिल्लो खुर्काेटमा पसल चलाउँदै आएकी सरिता श्रेष्ठले भने घरका केही सामान सुरक्षित राख्न पाइन् । ‘शनिबार बिहान ८ बजेदेखि ११ बजेसम्म पसलको पेटीमा थिए । ११ बजे खाना पकाउन घरभित्र गएँ, बाढी पसेको रहेछ । धन्न सामान निकाल्न पाइयो, पसल थोरै माथि भएकाले केही जोगाउन सकियो । तर, चार लाखको क्षति भयो,’ सरिताले भनिन् । 

खुर्कोटमा यति ठूलो विपत्ति पहिलोपटक आएको गोलन्जोर गाउँपालिका– ७ का वडाध्यक्ष रेगन थापाले बताए । बजारमा पानी १० मिटरमाथिसम्म पुगेको थियो, बाढीले खुर्कोट बजारका ५० परिवार सुकुम्बासी बनेका छन्, व्यापारिक केन्द्र भएकाले यहाँ अर्बौँको नोक्सानी भएको छ,’ थापाले भने ।

See More On

सुझावित समाचार