एभरेष्ट महिला भलिबल लिग : काठमाडौंको पहिलो जित

बुधबार, १६ असोज, २०८१
डिजिटल संस्करण

लिगको पहिलो खेलमा ललितपुरसँग पराजित काठमाडौँले दोस्रो खेलमा चितवन शक्तिलाई ३–१ ले पाखा लगायो

काठमाडौं स्पाइकर्सले एभरेष्ट महिला भलिबल लिगमा मंगलबार पहिलो जित निकालेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा भएको खेलमा काठमाडौंले चितवन शक्तिलाई ३–१ को रोमाञ्चक सेटमा हराउँदै पहिलो जित हात पारेको हो । यसअघि सोमबार काठमाडौं ललितपुरसँग पराजित भएको थियो । काठमाडौं समग्रमा २१–२५, २५–१०, २५–२२ र २५–१७ ले विजयी भयो । 

पहिलो सेटमा उत्कृष्ट प्रदर्शन चितवन दोस्रो र तेस्रो सेटमा कमजोर देखियो । यही दुई सेटमा बाजी मार्दै काठमाडौंले लिगमा पहिलो जित दर्ता गर्न सफल भयो । जितसँगै काठमाडौंले दुई खेलबाट तीन अंक जोडेको छ । चितवनले दुई खेलबाट समान तीन अंक बटुलेको छ । चितवनले पहिलो खेलमा गण्डकी थन्डर्सलाई सहजै पाखा लगाएको थियो । 

यसअघि कर्णालीले लिगमा लगातार दोस्रो जित हात पारेको थियो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलमा कुमार राईको प्रशिक्षणमा रहेको कर्णालीले गण्डकी थन्डर्समाथि ३–२ सेटको जित हात पार्यो । कर्णालीले पहिलो खेलमा मधेश प्रदेश युनाइटेडलाई हराएको थियो । गण्डकीविरुद्धको प्रतिस्पर्धामा कर्णालीले पहिलो सेट गुमाएको थियो । कर्णालीले त्यसपछिका लगातार दुई सेट जित्दै २–१ को अग्रता बनाएको थियो । 

पहिलो सेटमा गण्डकी २५–१५ ले विजयी भएको थियो । त्यसपछि कर्णाली संयमित हुँदै २५–२२ र २५–१७ ले जित्यो । गण्डकीलाई खेलमा रहन चौथो सेट जित्नुपर्ने थियो । हारले कर्णाली ३–१ ले विजयी हुने थियो । महत्वपूर्ण सेटमा गण्डकीले एक पक्षीय खेल देखायो । कर्णालीको कमजोर ब्लकको फाइदामा गण्डकीले चौथो सेटमाथि २५–१९ ले कब्जा जमायो । यस नतिजासँगै खेल २–२ को सेटमा पुग्यो ।

पाँचौँ तथा निर्णायक सेटमा कर्णालीले गण्डकीलार्ई १५–१२ ले निराश बनायो । लगातार दुई जितसँगै कर्णालीले दुई खेलबाट पाँच अंक बटुल्यो । दुई खेलमा जित दिलाउन महत्वपूर्ण योगदान दिएकी ग्रिसकी एनेस्थेसियाले लिगमा सोचे जस्तो सुरुवात भएको बताइन् । ‘हामीले महिला लिगमा सोचे जस्तो सुरुवात गर्यौँ,’ उनले भनिन्, ‘टिम उत्साहित छ आउने खेलमा ऊर्जा मिलेको छ ।’ एभरेस्ट महिला लिगमा सहभागी हुन उनी आइतबार मात्र नेपाल आएकी थिइन् । एनेस्थेसिया ग्रिसको घरेलु लिगमा परिचित अनुहार हुन् । उनी ग्रिसको राष्ट्रिय भलिबल टोलीकी महत्वपूर्ण सदस्य हुन् । 

लगातार दोस्रो खेलमा पराजित गण्डकी
गण्डकीको यो लगातार दुई खेलमा हार हो । गण्डकीको एक अंक छ । गण्डकीले चितवनलाई पहिलो खेलमा नतिजा सुम्पिएको थियो । पहिलो खेलमा गण्डकी चितवनसँग २५–२२, १९–२५, २५– २३ र २५–१७ ले पराजित भएको थियो । चितवनले पहिलो, तेस्रो र चौथो सेट जित्दै जित हात पारेको थियो । पहिलो सेटमा ४ अंकले पछि परेको चितवनले उत्कृष्ट पुुनरागमन गर्दै १२ अंक बटुल्यो । पहिलो सेटमा १८ अंक हुँदासम्म गण्डकी र चितवनबीच कडा प्रतिस्पर्धा चलेको थियो । दुवै टोली पहिलो सेटमा २२–२२ को बराबरीमा थिए । 

दोस्रो सेटमा गण्डकीले ९–५ को अग्रता लियो 
तेस्रो सेटमा चितवनले सुरुमै अग्रता लियो । सुरुवातदेखि नै अग्रता बनाएको चितवनले १८–१० को बलियो अग्रता बनायो । २२–१५ को अवस्थामा गण्डकीले उत्कृष्ट कमब्याक गरेको थियो । खेल २४–२३ को अवस्था सम्म आयो । तेस्रो सेटको अन्तिममा चितवनी सुर्या सरसुरीले स्पाइक प्रहार गर्दै टोलीलाई तेस्रो सेटमा विजयी गराइन् । चौथो सेटमा गण्डकीले अग्रता लिएको थियो । 
 

सुझावित समाचार