निजी क्षेत्रबाट बेलडाँडीमा लिटिल ग्रिनपार्क

मंगलबार, १५ असोज, २०८१
डिजिटल संस्करण

कञ्चनपुरको बेलडाँडीमा एक युवाले निजी लगानीमा लिटिल ग्रिनपार्क सञ्चालनमा ल्याएका छन् । बेलडाँडीका स्थानीय युवा ललित गिरीले निजी लगानीमा लिटिल ग्रिनपार्क सञ्चालनमा ल्याएका हुन् । 

गिरीले बेलडाँडी गाउँपालिका– २ हुलाकी राजमार्गछेउमै रौलेश्वर टोलमा ‘लिटिल ग्रिनपार्क’ सञ्चालनमा ल्याएका छन् । उनले आफ्नै झन्डै १५ कट्टा जमिन क्षेत्रफलमा बहुउपयोगी पार्क निर्माण गरेका छन् । पार्कको चारैतिर विभिन्न प्रजातिका फूलहरू झकिझकाउ पारिएका छन् । 

बालबालिकादेखि ज्येष्ठ नागरिकलक्षित गरेर पार्क निर्माण गरेका छन्। गाउँघरमै उद्यम गर्न सकिने प्रणका साथ आफूले झन्डै एक करोड लगानीमा पार्क निर्माण गरेको गिरीले बताए । ‘मैले आफ्नै मातृभूमिमा केही उद्यम गर्न सकिन्छ कि भन्ने सोचका लागि पाँच–सात वर्षदेखि तयारी अघि बढाएकाे थिएँ,’ उनले भने, ‘अब केही ठुला संरचना मात्रै बनाउन बाँकी छ, अधिकांश बनिसकेका छन् ।’ 

बालबालिकालाई मनोरञ्जनदेखि मझौला, ठुला हल निर्माण गरेर विभिन्न धार्मिक, सामाजिक कार्यक्रम गर्नका लागि पार्किङ, हल, स्विमिङपुल निर्माण गरिएका छन् । पार्कभित्र खाजा–नास्ताका लागि कटेज निर्माण गरिएको छ।अवलोकनकर्ताहरूका लागि नास्ताको सुविधा हुनेछ । ‘अधिकांश संरचना हामीले निर्माण गरिसकेका छौँ,’ उनले भने, ‘हल, स्विमिङपुल मात्रै बाँकी छ, त्यो पनि निर्माण कार्य अघि बढिसकेको छ । हजारौँ मानिस हट्ने क्षमताको हल निर्माण गरेर भावी दिनमा विवाह, व्रतबन्धसहितका कामकाज गर्न सकिनेछ ।’ पार्कको चारैतिर अशोका बिरुवासहित पर्खालमा समेत प्राकृतिक सजावटका दुबो लगाइएको छ । 

गाउँको पर्यटन, प्रवर्द्धनदेखि स्थानीयलाई विभिन्न मनोरञ्जनसहित सामाजिक सेवा दिने उद्देश्यले पार्क निर्माण गरिएको बताए। पार्कको उत्तर–पश्चिम शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कालिकिच तालछेउमै रहेको पार्कले पर्यापर्यटनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। पार्कभित्र रोपिएका फूलका बिरुवाले थप पर्यावरण स्वच्छ राख्ने दाबी गरिएको छ । 
 

सुझावित समाचार