सिन्धुलीको सुनकोशी गाउँपालिका– १ नेपालथोकका सुन्दर फाँट पाकेको धानले पहेँलपुर देखिएका थिए । लहलह झुलेर सुनौलो देखिएका धान भित्र्याउन किसानले खेतला खोजिसकेका थिए ।
गत शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढी धान फाँटमा पस्यो । बाढीसँगै आएको लेदो माटो, गेग्रानले खेतै बगर बनाइदियो । दसैँअघि थन्क्याइसक्ने तयारी गरिएको धानबालीसहित उब्जाउ हुने खेत बगरमा परिणत भएपछि किसान निराश छन् ।
जग्गा भाडामा लिएर २२ रोपनीमा लगाइएको धान भित्र्याउने वेलामा बाढीले सखाप पारेपछि भोक, निद्रा हराएको किसान केशवसिंह श्रेष्ठको दुःखेसो छ । ‘जेठ २९ गते ८० हजार खर्च गरेर रोपेको धान पाकेपछि बाढीले खायो, दुःख गर्ने हामीले खान पाएनौँ । सातजनाको परिवार छ, अब के खुवाएर पाल्ने ? चिन्ता मात्र लाग्छ,’ उनले भने, ‘चार दिनदेखि भोक, निद्रा छैन।’ किसान श्रेष्ठले २२ रोपनीबाट सय मुरी धान भित्र्याउने गर्थे । यस वर्ष एक दानो भित्र्याउन नपाई बाढीले सखाप बनायो ।
सुनकोशी– १ गोइरीकी कृष्णमाया तोलंगेले बाढी खेतमा पसेपछि एक दानो धान भित्र्याउने अवस्था नरहेको बताइन् । तीन रोपनीमा लगाएको पाकेको धान, रोपाइँ खर्च, बिउ, मल, परिश्रम सबै खेर गएको उनले बताइन् ।
बाढीले बगाएको धान खेत हेर्दै गणेश श्रेष्ठ भक्कानिए । सुनकोशी– १ गजुलीदह बस्ने किसान श्रेष्ठको मुख्य पेसा कृषि नै हो । यसैबाट निर्वाह भएको थियो, पाँचजना परिवारको जीवन । पाकेको धानसहित पाँच रोपनी खेत बगर बनाएपछि उनलाई यतिवेला चिन्ता बढेको छ ।
नेपालथोकका किसानलाई मात्रै होइन, बाढीले खोला र नदीआसपासका धान खेत कतै कटान गरेको छ त कहीँ ढालेर सोत्तर बनाएको छ भने कतै बालुवा, माटो, ढुंगा र मुढाले पुरेर उराठिलो बगर बनाइदिएको छ । सुनकोशी गाउँपालिकाभित्रको क्षेत्रमा मात्रै तीन सय बिघामा लगाइएको धानबाली बाढीले नष्ट गरेको उपाध्यक्ष कपिलकुमार कोइरालाले बताए।
गोलञ्जोर गाउँपालिका क्षेत्रमा भित्र्याउने वेला भएको ३० बिघाको धानबाली क्षति भएको उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेको आकलन छ । सुनकोशीमा आएको बाढीले विशेषगरी गोलञ्जोर– ७ को बेसीँफाँट, वडा नं. ६ को बलेनी, हैवारी क्षेत्र, वडा नं. २ को कुखुरेटार, ३ नं. वडाको मुर्गी, दिङदिङबेँसी र वडा नं. १ को च्याखुटारबेँसीको धान फाँटमा क्षति गरेको उनले बताए ।
हरिहरपुरगढी गाउँपालिकामा बागमती नदीमा आएको बाढीले बस्तीपुर फाँट, कुर्ले फाँट, भिसापानी फाँट, श्रीपुर फाँटलगायत स्थानका धानबाली सखाप बनाएको छ । हरिहरपुरगढी– १, २ र ३ वडाको खेतीयोग्य जमिन कटान भएको छ । पालिका अध्यक्ष बज्रध्वज वाइबाका अनुसार यहाँका ४६५ हेक्टर खेतीयोग्य जमिन नदीले कटान गरेसँगै धानबालीमा क्षति भएको छ ।
भर्खर पसाएको धान बाढीले जमिनसँगै कटान गरेपछि किसान दुःखी छन् । बालुवा, माटो, ढुंगा र मुढाले पुरेको, च्यापिएको धानको बाला हेर्दै यहाँका किसान अधिकांश समय पुर्पुरोमा हात राखेर बस्छन् । मन बुझाउने विकल्प भेट्दैनन् । किसानलाई सरकारसँग पनि केही आशा छैन ।
जिल्लाका नौवटै पालिकाका खेतीयोग्य जमिन र धानबालीमा ठुलो क्षति भएको कृषि विकास कार्यालयकी कृषि प्रसार अधिकृत उमादेवी श्रेष्ठले बताइन् । उनले भनिन्, ‘तीन दिनको अविरल वर्षासँगै आएको हुरी र बाढीपहिरोले जिल्लाको सबै पालिकाको धानबालीमा असर गरेको छ । खोला र नदीमा आएको बाढीले खेतीयोग्य जमिन कटान भएका छन् ।’
कुन पालिकामा कति परिमाणमा क्षति भयो भन्ने यकिन तथ्यांक आइसकेको छैन । सयौँ हेक्टरको धानबालीमा क्षति पुगेको आकलन छ । क्षति विवरण संकलन भइरहेको उनले बताइन् । क्षति विवरण यकिन भएपछि सोही आधारमा किसानलाई राहत तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायसँग समन्वय गरिने उनको भनाइ छ। कृषि विकास कार्यालयको तथ्यांकअनुसार यस वर्ष सिन्धुलीको ११ हजार १८८ हेक्टरमा किसानले धानबाली लगाएका थिए । रासस