पहिरोमा ज्यान गुमाएका मकवानपुरे खेलाडीको शव हेटौँडा ल्याइयो

सोमबार, १४ असोज, २०८१
डिजिटल संस्करण

गएको शनिबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको टेकरमा पहिरोमा परी ज्यान गुमाएका मकवानपुरका दुई  र बाराका एकजना खेलाडीको शव सोमबार हेटौँडा ल्याइएको छ । सोमबार बिहान ल्याइएका शवहरूलाई जिल्ला खेलकुद विकास समितिको प्रांगणमा  राखेर श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले इन्द्रसरोवर गाउँपालिका– ३ मा रहेको वत्सला मावि सिस्नेरीमा सञ्चालन गरेको एन्फा एकेडेमीकाे पहिरोमा परी मृत्यु भएका ६ मध्ये मकवानपुरका तीनजना खेलाडीको मृत्यु भएको थियो । 

सोमबार मकवानपुरका तीनमध्ये दुईजना खेलाडीहरू अनुपम घलान र साइमन योञ्जनको शव हेटौँडा ल्याइएको हो । यस्तै, बाराका विकल रेग्मीको शव पनि हेटौँडा ल्याइएको थियो । उनीहरूको शव काठमाडौंमा पोस्टमार्टमपछि हेलिकाेप्टरबाट हेटौँडा ल्याइएको हो । मकवानपुरको सिस्नेरीका दिवस बानियाँको भने काठमाडौंमा आन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

श्रद्धाञ्जली सभा कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलवाल, मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सीताराम रिजाल, जनप्रतिनिधि, विभिन्न खेलकुदसम्बद्ध संस्थाका प्रमुख एवं प्रतिनिधि, विभिन्न खेलका प्रशिक्षक, खेलाडीलगायतको उपस्थिति रहेको थियो ।

सुझावित समाचार