मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीमा खसेको पहिरोमा परी बाराको निजगढ नगरपालिका– ८ निवासी जयन्त रेग्मी र कमला रेग्मीका छोरा वर्ष १४ का विकल रेग्मीको मृत्यु भएपछि आफन्त र छिमेकी शोकमा डुबेका छन् ।
एन्फा एकेडेमी र विद्यालयको लापरबाहीले विकलको ज्यान गएको भन्दै उनीहरूले मृतक प्रशिक्षार्थी विद्यार्थीको उचित सम्मान र पारिवारजनमा क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन्। घटनापछि मृतक विकलको घरमा पुगेका निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले विकलको मृत्युले निजगढ नगरपालिका र राष्ट्रले नै ठुलो क्षति व्यहोरेको बताए ।
यसैबिच विकलको शव आज बिहान निजगढ ल्याइने भएको छ। निजगढ नगरपालिकाले आइतबार साँझ सूचना जारी गरेर स्व. विकलको पार्थिव शरीरलाई अन्तिम बिदाइका लागि स्वर्गीय विकलको शव आज निजगढ नगरपालिका– ९ स्थित सहिद हिरालाल रंगशालामा राखिने र श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिने जनाएको छ।
निजगढ नगरपालिकाले विकलको शवलाई सहिद हिरालाल रंगशालामा राखेर अन्तिम बिदाइ दिने तयारी रहेको नगरप्रमुख सुरथ पुरी बताए । उनले विकलको अन्तिम बिदाइमा सहभागी हुन नगरवासीलाई आह्वानसमेत गरेका छन्।
श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन सम्पूर्ण निजगढवासीमा नगरपालिकाले अनुरोध पनि गरेको छ। इन्द्रसरोवर गाउँपालिका– ४ स्थित वात्सल्यदेवी माध्यमिक विद्यालयमा एन्फाले सञ्चालन गरेको आवासीय एकेडेमीबाट प्रशिक्षार्थी खेलाडी विकल रेग्मीसँगै ६ जना खेलाडीको पहिरोमा परी मृत्यु भएको थियो।