भारतको नयाँदिल्लीस्थित विमानस्थलमा पक्राउ परेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई प्रहरीले नेपाल ल्याएको छ । इमेज बचत तथा ऋण सहकारी ठगी मुद्दामा डेढ वर्षदेखि फरार रहेका उनलाई विमानमार्फत काठमाडौं ल्याई प्रहरीले बागलुङ लगेको हो ।
मेयर नेपालीसहित सोही ठगी मुद्दामा फरार रहेका ओमबहादुर दर्जीलाई पनि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसपी होविन्द्र बोगटीले बताए । दुवैजनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको सिआइबीको विज्ञप्तिमा उल्लेख छ । उनीहरूविरुद्ध एक अर्ब ३८ करोड ठगीको अभियोग छ । दुवैलाई जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको छ । उनीहरूमाथि सूर्यदर्शन सहकारीको ठगीमा पनि अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
लन्डनबाट फर्कने क्रममा नेपालीलाई दिल्ली विमानस्थलको अध्यागमनले शुक्रबार पक्राउ गरेको थियो । इन्टरपोलको समन्वयमा त्यहाँको सुरक्षा निकायले उनलाई नेपाल निष्कासन गरेको थियो । मेयर नेपालीले आफ्नो सम्पत्ति बेचेर बचतकर्ताको पैसा फिर्ता गर्ने बताएका छन् । उनले पैसा फिर्ता गरेमा मुद्दामा मिलापत्र हुन सक्ने कानुनी प्रावधान छ । ०८० वैशाखमा बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि सहकारी बन्द भएलगत्तै उनी फरार भएका थिए ।
पोखरा र बागलुङ रहेको सहकारीमा समस्या आएसँगै १ जेठ ०८० मा बागलुङबाट बुर्तिबाङ हिँडेका नेपाली ५ जेठदेखि सपरिवार सम्पर्कविहीन भएका थिए । नेपालीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा ५२५ र बागलुङमा एक हजार ५४३ गरी दुई हजार ६८ बचतकर्ताले जाहेरी दिएका छन् । प्रहरीका अनुसार कास्कीको सहकारीमा बचत गरेका बचतकर्ताहरूको बिगो ५८ करोड रहेको र पोखरा महानगरपालिकाले बनाएको समितिले ६४ करोड ८८ लाख बिगो माग गरेको छ । बागलुङ प्रहरीमा दर्ता भएको जाहेरीमा एक अर्ब ३८ करोड बिगो माग गरिएको छ ।