अविरल वर्षाले च्यासल क्षेत्रमा ग्यासको बुलेट बगेको भेटिएको छ। तर, उक्त बुलेट सिलिन्डरमा ग्यास भर्ने उद्योगको नभई टेम्पोमा ग्यास भर्ने कारखानाको भएको, तर लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ।
ग्यास उद्योग संघका महासचिव कृष्णभक्त श्रेष्ठले सामाजिक संजालमा बुलेट बगेको देखेपछि सोधखोज गर्दा कुनै पनि उद्योगको नरहेको पुष्टि भएको बताए। ‘पानीमा बगेको बुलेट कुनै पनि ग्यास उद्योगको होइन,’ उनले भने, ‘मैले बुझ्दा खेरी टेम्पोमा ग्यास भर्ने प्रयोजनका लागि राखिएको बुलेट हो। तर, उक्त कम्पनी पनि धेरै पहिले नै बन्द भएको छ र पानीमा बगेको बुलेटमा पनि ग्यास नभएको जानकारी पाएको छु।’
बुलेटभित्र थोरै मात्रामा रहेको ग्यास ‘भाइपर’ को रूपमा बाहिर आएको हुन सक्ने उनले बताए। ‘पानीमा तैरिरहेको बुलेटमा ग्यास नभएकाले स्थानीय आत्तिनुपर्ने अवस्था छैन,’ उनले भने।