कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले शुक्रबार ४५औँ विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा पुर्याइरहेको योगदानको प्रशंसा गरे। यद्यपि, सन्तोषजनक अवस्था भने नरहेको भन्दै उनले आगामी दिनमा पर्यटन क्षेत्रबाट हुने योगदान थप वृद्धि गर्न सरकारले आवश्यक सहजीकरण गर्ने बताए।
‘पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा ठुलो योगदान पुर्याएको छ। कुल गार्हस्थ्य उत्पादनमा यो क्षेत्रबाट भइरहेको योगदान अझ कसरी बढाउन सकिन्छ ? त्यसतर्फ लाग्नुपर्ने आवश्यकता छ,’ सिंहले भने, ‘पर्यटन क्षेत्रमा काम गर्दा परेको अप्ठ्यारो पहिचान गरेर सरकारले हटाउँछ। सहज रूपमा व्यवसाय गर्न सक्ने अवस्था सरकारले बनाउनेछ।’
उनले नेपाल साहसिक पर्यटन, ट्रेकिङ, हिमाल आरोहण, स्काई ड्राइभिङका लागि आकर्षक गन्तव्य बन्दै गइरहेको भन्दै यसमा के गर्दा राम्रो हुन्छ त्यसमा लाग्नुपर्ने बताए। पर्यटन क्षेत्रमा सक्रिय निजी क्षेत्रले आफ्नो व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था बनाउनका लागि सरकारले ध्यान दिने पनि उनले आश्वासन दिए।