अमेरिकी चुनावी बहसमा उपेक्षित चीन

शुक्रबार, ११ असोज, २०८१
डिजिटल संस्करण

अमेरिकाको घरेलु बचत कमीको मूल मुद्दालाई सम्बोधन नगरी चीनलाई तारो बनाउनु भनेको केवल विषयान्तर गर्न खोज्नु मात्रै हो

याे महिनाको अमेरिकी राष्ट्रपतीय चुनावी बहसमा चीन अचम्म लाग्दोगरी निकै कमपटक उल्लेख भयो । पूर्वराष्ट्रपति एवं रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो प्रस्तावित आयात करले चीन र ती सबै मुलुकलाई दण्ड दिनेछ, जसले हामीलाई वर्षौंदेखि ठगिरहेका छन् भनेका थिए । त्यसैगरी डेमोक्य्राट उम्मेदवार एवं उपराष्ट्रपति कमला ह्यारिसले चीनको कोभिड महामारी प्रतिक्रियाको आलोचना गर्दै राष्ट्रपति सी जिनपिङ ‘कोभिडको उत्पत्तिबारे पारदर्शिता र हामीलाई पूर्ण जानकारी नदिनुमा जिम्मेवार छन्’ भनेकी थिइन् ।

चीनमा ध्यान केन्द्रित हुन नसक्नु एक अर्थमा अनुमानित पनि थियो । अमेरिकी मतदाता यो चुनावमा गर्भपतन र महिलाको प्रजनन अधिकार, आप्रवासन र सीमा सुरक्षा, मुद्रास्फीतिलगायत मुद्दामा बढी केन्द्रित छन् । नेसनल डिफेन्स स्ट्राटेजी र ह्वाइट हाउसको नेसनल सेक्युरिटी स्ट्राटेजीसम्बन्धी आयोगले चीनको जोखिमलाई स्विकारे पनि बहस मध्यस्थकर्ताका प्रश्न र उम्मेदवारका लागि पूर्व–चयनित प्रश्नमा एक्काइसौँ शताब्दीको अमेरिकाको सबैभन्दा परिणाममुखी विदेश–नीति मुद्दा के हुन सक्छ भन्ने विषय समेटिएको देखिँदैन । यस अर्थमा यो समस्यालाई सम्बोधन गर्न असफल भइयो भन्नुको पनि अर्थ छैन ।

सन् १९६० निक्सन–केनेडीको ताइबान जलडमरुमा क्वेमोय र मात्सु द्वीप बहसबाट चीन चुनावी अभियान एक मुख्य विषय बन्दै आएको थियो । सन् २०१६ को ट्रम्प–क्लिन्टन बहससहित अधिकांश राष्ट्रपतीय बहसले चीन–अमेरिकी सम्बन्धलाई सम्बोधन गरेको थियो । तर, यसपालि यस्तो देखिन्न । के ध्रुवीकृत सामाजिक सञ्जाल र दिनरातको समाचार चक्रबाट प्रभावित अमेरिकी मतदाताले ठोस नीतिगत छलफलमा चासो गुमाएका हुन् ? चीनबाट हुने सम्भावित खतरामा दुवै पक्षको सहमतिका कारण चीनलाई बेवास्ता गर्ने उम्मेदवारको प्रवृत्तिलाई व्याख्या गर्न सकिन्छ । अमेरिकी राजनीतिज्ञले प्रायः स्वनिर्मित समस्याका लागि अरूलाई दोष दिन्छन् । उदाहरणका लागि व्यापार घाटाका लागि चीनलाई दोष दिइन्छ, जबकि व्यापार घाटा बजेट घाटा र न्यून घरेलु बचतबाट उत्पन्न भएको हो । त्यसैगरी हुवावेमाथिको आसक्तिले अनुसन्धान र विकासमा न्यून लगानी भएको स्वीकार गर्नुको सट्टा चीनलाई दोष दिन सहज भएको देखाउँछ । वास्तवमा यसले अमेरिकी नवप्रवर्तनलाई खतरामा पार्छ ।

म अमेरिकी राजनीतिज्ञले चीनजस्ता जटिल मुद्दामा स्पष्ट हुने अपेक्षा गर्दिनँ । मैले मेरो पुस्तक ‘एक्सिडेन्टल कन्फ्लिक्ट’मा व्याख्या गरेझैँ भ्रामक भाष्य सन् २०२४ को राष्ट्रपतीय चुनावी अभियानमा थप सामान्य भएको छ । आयात करमाथि ट्रम्पको आसक्तिले अमेरिकामा मुद्रास्फीति कम गर्ने र विदेशी निर्यातकर्ताका लागि लागत बढाउने दाबी गरिन्छ, जबकि यसो हुँदा ठिकविपरीत नतिजा निम्तिन पनि सक्छ ।

तपाईंले ह्यारिसलाई ट्रम्पको चीन आयात कर जारी राख्ने र बाइडेन प्रशासनले नयाँ आयात कर थप्ने निर्णयलाई समर्थन गरेकोमा आलोचना गर्न सक्नुहुन्छ । अमेरिकाको घरेलु बचत कमीको मूल मुद्दालाई सम्बोधन नगरी चीनलाई तारो बनाउनु भनेको केवल विषयान्तर गर्नु मात्रै हो । चीनलाई लिएर आयात करको तथाकथित समाधानले हालै अमेरिकाको व्यापार घाटा मेक्सिको, भियतनाम र जर्मनीजस्ता अन्य देशमा सारेको छ र यसको उत्पादन लागत बढी छ । यसले पहिल्यै लागतसँग संघर्ष गरिरहेका अमेरिकी परिवारका लागि मुद्रास्फीति बढाउनेछ । 

यस अवस्थामा म भएको भए चीन रहस्यका तीन मुख्य मुद्दालाई सतहमा ल्याउन प्रयास गर्ने थिएँ । पहिलो, के अमेरिकाले आफ्नो सबैभन्दा ठुलो व्यापार साझेदारलाई तारो बनाएर बहुपक्षीय व्यापार घाटा (सन् २०२३ मा १०६ देशसँगको) हटाउने आशा गर्न सकिन्छ ? सरकारले सन् १९८० मा जापानसँग यस्तै प्रयास गरेर असफल भएको थियो । त्यसो भए किन राजनीतिज्ञ यही दृष्टिकोणले अब चीनसँग चामत्कारिक रूपमा काम गर्नेछ भन्ने ठान्छन् ?

दोस्रो, यो व्यापार युद्धले प्रत्युत्पादक नतिजा निकाल्ने सम्भावना छ ? यस्तै प्रत्युत्पादक अवस्था पहिल्यै निम्तिएको छ । सन् १९३० को दशकमा भएको महामन्दी सबैभन्दा पीडादायी उदाहरण हो । जब मुलुकलाई आयात कर वृद्धिबाट आक्रमण गरिन्छ, तब ती मुलुकले बदला लिन्छन् । जब कम्पनीले प्रतिबन्धको सामना गर्छन्, तिनले प्रतिस्पर्धी रहनुलाई प्राथमिकता दिन्छन् । हुवावेका नवीनतम स्मार्टफोन र ल्यापटप यसका उल्लेखनीय उदाहरण हुन् ।

तेस्रो, चीनसँगको व्यापार युद्ध जित्दा अमेरिकाले के पाउँछ ? दुवै देश राष्ट्रिय सुरक्षाका विषयमा विवादमा तानिएका छन् । अमेरिकाले राष्ट्रिय सुरक्षालाई अत्यधिक प्राथमिकता दिन खोजेकामा चीन चिन्तित छ, जबकि अमेरिकाले ‘सानो बगैँचा र अग्लो बार’को भाष्य प्रयोग गर्दै संवेदनशील प्रविधिको सुरक्षा गरिरहेको दाबी गर्छ । के यहाँ दुबै पक्षका लागि काम गर्न सक्ने बिचको बाटो छ ? संलग्नताको अर्थ कमजोरी वा तुष्टीकरण हुनुहुँदैन । अमेरिका–चीन सम्बन्धको नयाँ चरणको ढोका खोल्न के गर्न आवश्यक छ ?

यी मायावी प्रश्न होइनन् । मैले वर्षौंदेखि यी प्रश्नको जवाफ दिने प्रयास गरेको छु । तर, अमेरिकी मतदाता चीनको मुद्दा अन्वेषण गर्न वा द्वन्द्वको विकल्पमा विचार गर्नमा चासो राख्दैनन् । अमेरिका सिनोफोबिया (चीनद्वेष) को खतरनाक लहरमा फसेको छ र यो द्वेष शीतयुद्धभन्दा पनि भयावह छ । चीनलाई निरन्तर खतराका रूपमा हेरिरहनुको सट्टा चीनसँग संलग्न हुने अन्य उत्तम उपाय खोजिनुपर्छ । यदि अमेरिकी राष्ट्रपति पदका उम्मेदवारलाई देशका ठुला चुनौतीलाई सम्बोधन गर्न दबाब दिइएन भने रचनात्मक समाधान खोज्न निकै गाह्रो हुनेछ ।

(अमेरिकी अर्थशास्त्री रोच येल विश्वविद्यालयमा प्राध्यापनरत छन् ।) 
प्रोजेक्ट सिन्डिकेटबाट

सुझावित समाचार