प्रधानमन्त्री केपी ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबिच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीसँग बिहीबार चीनका विदेशमन्त्री वीले शिष्टाचार भेट गरेका हुन् । भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पनि सहभागी थिइन् । भेटपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘चीनका विदेशमन्त्री वाङ यीसँग आज फलदायी भेटवार्ता भयो । नेपाल–चीन द्विपक्षीय सम्बन्धबारे छलफल भयो र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित हाम्रो बलियो, समय–परीक्षण मित्रतालाई पुनः पुष्टि भयो ।’
ओली पछिल्लोपटक प्रधानमन्त्री भएपछि चिनियाँ उच्च अधिकारीसँग भएको यो पहिलो भेट हो । चिनियाँ विदेशमन्त्री यीले विगतमा दुई देशका उच्च नेताहरूबिच भएका समझदारी कार्यान्वयनमा प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री ओली र कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीबिच पनि बिहीबारै दुईपक्षीय भेटवार्ता भएको छ । ओली र पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफबिच साइडलाइन कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
हिमाल र समुद्री सतह रक्षाका लागि प्रधानमन्त्रीको आह्वान
प्रधानमन्त्री ओलीले ‘समुद्री सतह वृद्धिका कारण उत्पन्न चुनौती’का विषयमा उच्चस्तरीय प्लेनरी बैठकलाई सम्बोधन गरेका छन् । उनले हिमालदेखि समुद्री सतह रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभाअन्तर्गत उच्चस्तरीय प्लेनरी बैठकलाई सम्बोधन गर्ने क्रममा उनले विश्वव्यापी कार्बन उत्सर्जनका कारण नेपालका हिमालहरू पग्लिएको र यसले नदी प्रणालीमा असर परेको बताए । ‘एसियाका दुईतिहाइ हिमालहरू पग्लिएसँगै कम्तीमा १० वटा नदी प्रणाली सुक्खा हुन पुगेको छ । अब हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना अपरिहार्य छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले हिमालयहरू प्राकृतिक ‘रिचार्ज सिस्टम’ भएको उल्लेख गर्दै हिमाल जोगाउन र समुद्रकोे तापक्रम बढ्न नदिन विश्वव्यापी साझा प्रयास हुनुपर्ने बताए । ‘हानिकारक कण र प्रदूषण प्रवाह नियन्त्रणमा हातेमालो गर्दै जलवायु न्यायको नीति कार्यान्वयन गर्न लागौँ । उत्सर्जनकर्ता मुलुकले प्रभावित मुलुकलाई उचित क्षतिपूर्ति दिनुपर्ने कुरामा हामी सबैको साझा मत हुनुपर्छ,’ प्रधानमन्त्रीले भने, ‘आगामी वर्ष यस सवालमा उल्लेखित चुनौती सामना गर्ने विषयमा हिमाली र टापुजन्य मुलुकको बेग्लै बैठक राख्न म राष्ट्रसघसँग आग्रह गर्छु ।’ प्रधानमन्त्री ओलीले बिहीबारै राष्ट्रसंघको जलवायु परिवर्तनबाट असुरक्षित फोरमको बैठकलाई सम्बोधन गरे । उनले विकसित मुलुकले पेरिस सम्झौताबमोजिम जलवायु वित्त कोषमा अतिरिक्त बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । ओलीले नेपालमा हुने सगरमाथा संवादमा सहभागी हुन फोरमका सदस्य राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई निमन्त्रणा दिएका छन् । उनले माउन्ट सिनाई अस्पताल र एम्प्याथ नेपालद्वारा आयोजित कार्यक्रमलाई पनि सम्बोधन गरेका थिए ।