अब सडक र सदनबाट भ्रष्टाचारविरुद्ध महाभियान छेड्छौँ : प्रचण्ड

शुक्रबार, ११ असोज, २०८१
डिजिटल संस्करण

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सडक र सदनबाट भ्रष्टाचारविरुद्ध महाभियान चलाउने बताएका छन् । आफू सरकारमा रहँदा थालेको सुशासनको अभियान अब सदन र सडकबाट अघि बढाउने उनले उद्घोष गरे । 

श्रीलंकामा भ्रष्टाचारविरोधी एजेन्डा स्थापित गरेर वामपन्थी राष्ट्रपति निर्वाचित भएको स्मरण गर्दै प्रचण्डले सुशासनको अभियान नेपालमा पनि सशक्त रूपमा अघि बढ्ने बताए । ‘अब भ्रष्टाचारविरुद्ध सदन र सडकबाट महाभियान चलाउँछौँ, यसले समाजवादी क्रान्तिको थालनी गर्नसमेत सहयोग गर्नेछ । यसले नेपालमा मात्र होइन, विश्व समाजवादी आन्दोलनमा समेत सहयोग गर्नेछ,’ अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनको बिहीबार कीर्तिपुरमा उद्घाटन गर्दै उनले भने ।

सरकारमा रहँदा दलाल पुँजीपतिहरूको राइँदाइँमाथि जेहाद छेडेको दाबी गर्दै प्रचण्डले सदन र सडकबाट केही महिनाभित्रै परिस्थिति उल्ट्याइदिन सकिने बताए । यद्यपि, सरकार बनाउने हतारोमा माओवादी नरहेको उनको भनाइ थियो । ‘हामी अहिले सरकार बनाउने हतारोमा छैनौँ । तिमीहरू मिलेर बस भनेका छौँ । तर, हामीले चाहँदैमा उनीहरू मिल्दैनन् । अपवित्र गठबन्धन चाँडै कुहिएर झर्छ,’ उनले भने । प्राप्त उपलब्ध खोस्ने षड्यन्त्र भए प्रतिरोध हुने भन्दै प्रचण्डले विद्यार्थीलाई तयार रहन निर्देशन दिए । 

षड्यन्त्रको प्रतिवाद गर्नु क्रान्तिकारीहरूको दायित्व हुने उनले बताए । ‘हिजो जनयुद्धभरि एकपछि अर्को घेरा र दमन चलाइएको थियो, घेरा तोड्ने र प्रतिरोध गर्ने हाम्रो नीति थियो । अहिले पनि हामी त्यसरी अघि बढिरहेका छौँ । संविधान बन्न नदिने, संविधान कार्यान्वयन हुन नदिएर चुनावमा जान नदिनेजस्ता षड्यन्त्र थिए, हामी सबै घेरा तोडेर आएका हौँ । अहिले फेरि प्रतिनिधिसभाका पहिलो र दोस्रो दल मिलेर संविधानले स्थापित गरेका उपलब्धि खोस्ने षड्यन्त्र गरे भने सदन र सडकबाट एकैसाथ प्रतिरोध गर्न बाध्य हुनेछौँ, त्यसका लागि तपाईं विद्यार्थीहरू तयार हुनुहोला,’ उनले भने ।

प्रचण्डले प्राप्त उपलब्धि संस्थागत गर्दै नयाँ समाजवादी क्रान्तिको नेतृत्व माओवादीले गर्ने उद्घोष गरे । राजनीतिक व्यवस्था स्थापना र पूर्वाधार निर्माणलगायत सबै हिसाबले माओवादीले नै नेपालमा नयाँ युगको सुरुवात गरेको उनले दाबी गरे । ‘संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्वसहितको राज्य व्यवस्था नेपालमा माओवादीकै कारण स्थापित भएको हो भन्ने ऐतिहासिक तथ्यलाई अब कसैले अस्वीकार गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, संविधानसभाबाट संविधान निर्माण र त्यसमा आमसहमति जुटाएर कार्यान्वयन गर्ने काम मात्र होइन, माओवादीले सरकारको नेतृत्व गर्ने अवसर पाएको वेलामा सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र पूर्वाधार निर्माणका क्षेत्रमा पनि ऐतिहासिक भूमिका निर्वाह गरेकाले नयाँ युगको सुरुवात माओवादीले गरेको हो भन्ने तथ्य हाम्रो गौरवपूर्ण सम्पत्ति बनेको छ ।’

माओवादीले सरकारको नेतृत्व गरेका वेलामा गरेका महत्वपूर्ण कामको चर्चा गर्दै प्रचण्डले ती कामलाई आमजनतामा स्थापित गर्नुपर्ने बताए । ‘मैले गणतान्त्रिक नेपालको प्रथम प्रधानमन्त्रीका रूपमा नेतृत्व गरेको वेलामा मध्यपहाडी लोकमार्गको अवधारणा अघि सारेँ, जो निर्माण सम्पन्न हुने चरणमा छ । चुरेको काखबाट पूर्व–पश्चिम मदन भण्डारी लोकमार्ग पनि हाम्रै अवधारणामा सुरु गरिएको हो, जो निर्माण कार्य भइरहेको छ,’ उनले भने । 

आफूले अघि बढाएको उत्तर–दक्षिण करिडोर र डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका वेला अघि बढाइएको काठमाडौंको करिडोर अवधारणा पनि माओवादी सरकारकै विकास नीतिको परिणाम भएको उनले बताए । 

See More On

सुझावित समाचार