टेस्ट र टी–२० बाट सन्न्यास लिँदै सकिब

शुक्रबार, ११ असोज, २०८१
डिजिटल संस्करण

बंगलादेशका पूर्वकप्तान तथा अलराउन्डर सकिब अल हसनले टेस्ट र टी–२० अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिने भएका छन् । सकिबले अक्टोबरमा दक्षिण अफ्रिकाविरुद्धको ढाकामा हुने टेस्ट नै आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल हुने स्पष्ट पारेका छन् । उनले भारतविरुद्धको शुक्रबारदेखि सुरु हुने कानपुर टेस्टअगाडि बिहीबार अन्तर्राष्ट्रिय मिडियासँग कुराकानी गर्दै टेस्ट र टी–२० फम्र्याटबाट आफू अलग हुने घोषणा गरेका हुन् । खेल करिअरमा बंगलादेशको टोलीबाट एकदिवसीय र टी–२० विश्वकप खेल्नु महत्वपूर्ण भएको उनले जनाएका छन् । ‘दक्षिण अफ्रिका सिरिजका लागि उपलब्ध छु, तर बंगलादेशमा मेरो कुरा भइरहेको छ,’ सकिबले भने, ‘स्वाभाविक रूपमा सबै पक्ष ममा मात्रै  निर्भर छैन ।’ 

क्रिकेटबाट अलग हुने विषयमा बंगलादेश क्रिकेट बोर्डसँग छलफल भएको उनले बताए । ‘आजै बंगलादेश क्रिकेट बोर्डलाई टेस्टबाट सन्न्यास लिने योजना सुनाएँ,’ उनले भने, ‘मेरो नजरमा घरेलु सिरिज महत्वपूर्ण हो, तर घरको राजनीतिक अवस्था राम्रो छैन, राम्रो हुँदा मेरो सन्न्यास ढाकामै हुनेछ ।’ गत ५ अगस्टमा अवामी लिग नेतृत्वको सरकारको पतन भएदेखि सकिबले जटिलता सामना गरेका छन् । सुरक्षाका कारण उनी देशबाहिर छन् ।

दक्षिण अफ्रिकाले बंगलादेशविरुद्धको टेस्टका लागि अन्तिम निर्णय गरेको छैन । दक्षिण अफ्रिकी क्रिकेट बोर्डले बंगलादेशको पछिल्लो अवस्थाअनुसार मात्र निर्णय गर्ने गर्ने जनाएको छ । ‘बंगलादेशको राजनीतिक अवस्थाबाट परिचित छौँ, तर त्यहाँको खेलाडीको सुरक्षा पनि महत्वपूर्ण पक्षका रूपमा लिएका छौँ,’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

नयाँ खेलाडीलाई मौका
सकिबले क्रिकेटबाट सन्न्यास लिने निर्णय कठिन भएको बताएका छन् । ३७ वर्षीय अलराउन्डर खेलाडीले युवालाई स्थान दिन आफूले समय खेर नफालेको प्रतिक्रिया दिएका छन् । ‘यतिवेला भावुक छु । दुई दशकभन्दा लामो बंगलादेशी टोलीबाट टाढा बस्ने निर्णय लिँदै छु,’ उनले भने, ‘तर, यो निर्णय युवा खेलाडीलाई मौका बन्नेछ ।’ सिनियर खेलाडीको बहिर्गमनपछि टोलीमा युवाहरूले स्थान लिने उनको भनाइ छ । ‘सिनियर खेलाडीले टोलीमा कब्जा जमाउँदा कहिले पनि युवा खेलाडीले मौका पाउँदैनन्, यसकारण पनि उनीहरूका लागि बाटो खुला गरेको हुँ,’ उनी भन्छन्, ‘हेरौँ, बोर्डले मेरो पक्षमा कस्तो निर्णय लिनेछ ।’ बंगलादेशले अहिले सन् २०२६ को आइसिसी टी–२० लक्षित टोली बनाउनुपर्ने उनले सुझाव दिएका छन् ।

See More On

सुझावित समाचार