एकपटक पण्डित ईश्वरचन्द्र विद्यासागरलाई इंग्ल्यान्डमा एउटा सभाको अध्यक्षता गर्नुपर्ने भयो । उनी हरेक काम समयअनुसार नै गर्ने गर्थे । समयको पालना उनको प्रथम सिद्धान्त थियो । त्यसैले त उनका बारेमा भन्ने गरिन्थ्यो– पण्डित ईश्वरचन्द्र विद्यासागरका हरेक काम घडीको सुईका आधारमा पूरा हुन्छन् । उनी कार्यक्रमका लागि निश्चित समयमै सभाभवनमा पुगे । तर, मानिसहरू सभाभवनबाहिर घुमिरहेका थिए । त्यसको कारण सोद्धा थाहा भयो, सफाइ गर्ने कर्मचारी नआइपुगेका कारण भवनको सरसफाइ भएको थिएन र कार्यक्रममा ढिलाइ भइरहेको थियो ।
यो कुरा सुनेपछि विद्यासागरले एउटा कुचो उठाए र सभाभवनको सफाइ गर्न थाले । उनले यस्तो गरेको देखेर सबैले उनलाई साथ दिए । हेर्दाहेर्दै एकैछिनमा पूरा भवनको सफाइ भयो र सारा फर्निचर यथास्थानमा राखियो ।
जब सभा सुरु भयो, तब ईश्वरचन्द्र विद्यासागरले भने, ‘चाहे जोसुकै मानिस होस् या राष्ट्र, उसले स्वावलम्बी हुनैपर्छ । भर्खरै तपाईंहरूले देख्नुभयो एक–दुईजना मानिस नआउनाले हामी सबै चिन्तित भइरहेका थियाैँ । हुन सक्छ ती व्यक्तिसम्म यो सूचना पुगेकै थिएन या कुनै प्राकृतिक विपत्तिका कारण उनीहरू यहाँ आउन सकेनन् । के यस्तो स्थितिमा आजको कार्यक्रम नै स्थगित गरिदिने त ? यदि त्यस्तो गरेको भए कति मानिसको आजको श्रम व्यर्थमा जाने थियो । त्यसैले सबै मानिस स्वावलम्बी हुनुपर्छ र समस्या आइपरेमा कुनै पनि कार्य गर्न हिचकिचाउनु हुँदैन ।’