हेटौँडामा जारी जिल्ला लिग फुटबलको उपाधिका लागि हेटौँडाको पदमपाखेरी युवा क्लब र बागमती गाउँपालिकाको सहित स्मृति क्लब भिड्ने भएका छन्।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत बिहीबार भएका सेमिफाइनलमा जित निकाल्दै पदमपोखरी र सहित स्मृतिले फाइनल भिडन्त पक्का गरेका हुन् ।
बिहीबार भएको पहिलो सेमिफाइनलमा सहिद स्मृतिले हेटौँडाको न्यू कम्बाइन क्लबलाई सडनडेथमा र पदमपोखरीले हाँडीखोला युथ क्लब मनहरी गाउँपालिकालाई २–१ ले हरायो।
बागमती र कम्बाइनबिचको खेल निर्धारित समय र टाइब्रेकरसमेत बराबरी भएपछि सडनडेथमार्फत विजेताको टुंगो लगाइएको हो। निर्धारित समय गोलरहित बराबरी खेलेका दुवै टोलीले टाइब्रेकरमा समेत बराबरी गरेका थिए। सडनडेथमा भने सहिद स्मृतिले बाजी मार्न सफल भयो। सहिद स्मृति ६–५ गोल अन्तरले विजयी भयो।
यस्तै, दोस्रो खेलमा पदमपोखरीले हाँडीखोलालाई २–१ गोल अन्तरले हरायो। खेलको चौथो मिनेटमै हाँडीखोलाका खेलाडीले क्लियर गर्न खोजेको बल आफ्नै पोस्टमा गोल भएपछि पदमपोखरीले खेलमा अग्रता बनाएको थियो।
दोस्रो हाफमा पदमपोखरीले अग्रता दोब्बर बनायो। उसका लागि बिजेश तितुङले गोल गरे।
दोस्रो हाफको मध्यमा गोल गर्दै हाँडीखोलाले खेलमा फर्किन खोजेको थियो। तर, थप गोल हुन नसकेपछि पदमपोखरीले खेल २–१ ले जित्यो।
जिल्लाका २८ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता टोलीले एक लाख नगदसहित प्रदेशस्तरीय लिग खेल्ने अवसर पाउनेछ भने उपविजेता हुने टोलीले ५० हजार नगद पुरस्कार पाउनेछ। फाइनल खेल शनिबार हुने आयोजकले जनाएको छ।