संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा फिर्ता ल्याउन पहल गर्ने बताएका छन्।
बिहीबार नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित एटिसी सिमुलेटर तथा आधारभूत एयर ट्राफिक सर्भिस तालिमको उद्घाटन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्।
‘कुनै पनि शैक्षिक प्रतिष्ठानमाथि सरकारले आँखा लगाउनुहुँदैन। नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा ०७६ सालमा सरकारले नै फिर्ता लिएको रहेछ। शैक्षिक प्रतिष्ठानको जग्गा कसैले खोस्न मिल्दैन। सम्मानीय प्रधानमन्त्री स्वदेश फर्किएपछि उहाँलाई भेटेर फिर्ता ल्याउने प्रक्रियाबारे कुरा गर्ने वचनबद्धता व्यक्त गर्दछु,’ उनले भने।
मन्त्री पाण्डेले जग्गा फिर्ता भएपछि दक्ष जनशक्ति उत्पादन गर्नका लागि आवश्यक संरचना बनाउने आश्वासन दिए। एकेडेमीको जग्गा अपुग भएको बताउँदै उनले सरकारले लिएको जग्गा एकेडेमीमै फर्काउने गरी पहल गर्ने वचनबद्धता दोहोर्याए।
मन्त्री पाण्डेले प्रतिष्ठानबाट उत्पादित जनशक्तिले नेपाली आकाश सुरक्षित छ भन्ने विश्वास दिलाउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले भने, ‘नागरिक उड्डयन क्षेत्र कमजोर भयो भने धेरै कुरा देखाउन सक्दैनौँ। हामीसँग नेपालको आकाश सुरक्षित छ भन्ने सन्देश प्रवाह हुने गरी काम गर्न जरुरी छ। असुरक्षित छ भन्ने गलत भाष्य र प्रवृत्ति रोक्नुपर्छ।’
मन्त्री पाण्डेले नेपालका एयरलाइन्सलाई सुरक्षित र भरपर्दो बनाउन सरकारले आवश्यक हस्तक्षेप गर्दै अघि बढ्ने प्रस्ट्याए।