संखुवासभाको सदरमुकाम खाँदबारीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘खाँदबारी रन’ हुने भएको छ। दसैँ–तिहारको अवसर पारेर सदरमुकाम खाँदबारीमा रहेको खाँदबारी युथ क्लबले ‘खाँदबारी रन’ आयोजना गर्न लागेको हो। प्रतियोगिता असोज १७ गते घटस्थापनाको दिन हुने क्लबका महासचिव सुरेन शाक्यले जानकारी दिए।
प्रतियोगितामा विभागीय, खुला पुरुष र महिला टिमको सहभागिता रहनेछ। विभागीय टिमका धावकले १२ किलोमिटर, खुला पुरुष सहभागीले १० किलोमिटर र खुला महिला र ४० वर्षमाथिका सहभागीले सात किलोमिटर दूरी पार गर्नुपर्ने क्लबका कार्यवाहक अध्यक्ष मुनुहाङ गुरुङले बताए।
तीनवटै विधाका विजेताले नगद रु. १० हजार, उपविजेताले नगद रु. ७ हजार र तृतीय हुनेले नगद रु. ५ हजारसहित ट्रफी, मेडल र सम्मानपत्र प्राप्त गर्नेछन्। त्यसैगरी ४० वर्षमाथिका सहभागीमध्ये प्रथम हुनेलाई नगदसहित ट्रफी, मेडल र सम्मानपत्र प्रदान गरिने आयोजक क्लबले जनाएको छ।
‘खाँदबारी रन’मा सहभागी हुने धावकहरूका लागि नेपाल अर्बुद रोग निवारण संस्था केन्द्रीय कार्यालयले २५० थान, बज्र ट्रेडका प्रोपाइटर सविररत्न बज्राचार्यका तर्फबाट सय थान टिसर्ट सौजन्यस्वरूप प्राप्त भएको खाँदबारी युथ क्लबले जनाएको छ।